काठमाडौँ ।  कवि गोपाल पराजुलीलाई कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०८१ प्रदान गरिएको छ।

५० हजार एक सय ६० रुपैयाँ नगद राशिसहितको उक्त पुरस्कार शनिबार काठमाडौँमा एक कार्यक्रमका बीच प्रदान गरिएको थियो। कविडाँडा साहित्य समाज चितवनले प्रदान गर्ने यो पुरस्कार अमेरिका निवासी गीतकार सरला श्रेष्ठले आफ्ना मातापिता तुलसीदेवी र सुवर्णजङ्ग श्रेष्ठको नाममा स्थापना गर्नुभएको हो ।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, प्रमुख अतिथि अभिनेता मदनकृष्ण श्रेष्ठ र पुरस्कारदाता श्रेष्ठ परिवारले कवि पराजुलीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक महेश पौड्यालले कवि पराजुलीको साहित्यिक योगदानबारे प्रकाश पार्दै भन्नुभयो, “पाश्चात्य जगतले ईश्वर र लेखकको मृत्युको तर्क गरी निस्सारताको वकालत गरिरहेका बेला कवि पराजुलीले ‘अर्को ईश्वरको घोषणा’ लेखेर आस्था र आशावादिताको शाश्वत प्रवाहको रक्षा गरेका थिए। त्यसैगरी, सोभियत संघ र अमेरिकाबीचको शीतयुद्ध सकिएसँगै इतिहासको अवसान भयो भन्ने पश्चिमा विद्वानहरूलाई पूर्वको महत्त्व र ऐतिहासिक वैशिष्ट्य बुझाउन ‘अर्को विश्वको प्रस्ताव’ लेखेका छन्।” उहाँले पराजुलीलाई यो पुरस्कारका लागि योग्य भएको बताउनुभयो । पराजुलीले २०६० सालमा प्रकाशित ‘नयाँ ईश्वरको घोषणा’ कवितासङ्ग्रहका लागि मदन पुरस्कार प्राप्त गरिसक्नुभएको छ।

२०७७ सालदेखि प्रदान गर्न सुरु गरिएको यो पुरस्कार पहिलो पटक कवि श्रवण मुकारुङले प्राप्त गर्नुभएको थियो। त्यसपछि तीर्थ श्रेष्ठ, मनु मञ्जिल र सरुभक्तले यो पुरस्कार प्राप्त गरिसक्नुभएको छ।

सोही कार्यक्रममा लेखक एलबी क्षेत्रीको सातौँ पुस्तक ‘अमेरिकामा ४३ दिन’ संस्मरण सङ्ग्रहको पनि विमोचन गरिएको थियो । सन् २०१६ मा भएको पारिवारिक अमेरिका भ्रमणको अनुभव र अनुभूतिलाई पुस्तकमा समेटिएको लेखक क्षेत्रीले बताउनुभयो । पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको यस पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ।

त्यसैगरी, कार्यक्रममा गीतकार सरला श्रेष्ठका पाँच वटा गीतहरू पनि लोकार्पण गरिएको थियो । ‘हरपल सम्झनामा आइरहन्छौँ तिमी’, ‘दुखेँ धेरै अब दुख्न पुग्यो’, ‘किन भएछ भेट हाम्रो जिन्दगीको त्यस प्रहरमा’, ‘दिल त दामी हजुरको’ र ‘म हारेको छैन यो जिन्दगीमा’ गीतहरूमा राजनराज सिवाकोटी, लक्ष्मण पोखरेल र नरेन्द्र प्यासीको संगीत रहेको छ भने मदनकृष्ण श्रेष्ठ, एलिना चौहान, शिवराज विश्वकर्मा, बबिना भट्टराई र करण परियारको आवाज समावेश छ। गीत लोकार्पण कार्यक्रममा मदनकृष्ण श्रेष्ठले मन्तव्यसहित गीतहरू सुनाउनुभएको थियो ।

कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा र साहित्यिक पत्रकार विमल भौकाजीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।