
काठमाडौँ । ३२ वर्षदेखि काठमाडौंमा क्रियाशील मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले नयाँ वर्ष २०८२ को आगमनलाई साहित्यिक उत्सवका रूपमा मनाएको छ।
वैशाख १३ गते सम्पन्न यस विशेष कार्यक्रममा परिषद्का सल्लाहकार तथा कवि एवं कथाकार अमर शाहको शब्दमिडिया प्रा.लि. (साहित्यपोष्ट) बाट प्रकाशित कृति “गाउँ छाडेको मान्छे” को गहन समीक्षा तथा मोतीराज बमको कवितासङ्ग्रह “…अर्थात कर्णाली” को लोकार्पणले कार्यक्रमलाई विशेष बनाएको थियो ।
परिषद् अध्यक्ष समीर शाह ‘सल्यानी माइला’ को सभापतित्वमा सम्पन्न कार्यक्रममा साविक मध्यपश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाका स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य डा. मधुसुदन गिरीले अमर शाहको ‘गाउँ छाडेको मान्छे’ को गहन समीक्षा प्रस्तुत गर्दै यस कृतिको विषयवस्तु, शैली र समग्र साहित्यिक योगदानको विश्लेषण गर्नुभयो। डा. गिरीको समीक्षा पश्चात् कार्यक्रममा उपस्थित स्रष्टाहरूले आ-आफ्ना धारणा राख्दै कृतिप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।
‘गाउँ छाडेको मान्छे’ मा समेटिएका कविताहरूले गाउँ छोडेर शहर पस्नेहरूको संघर्ष, वेदना र अनुभूतिलाई मार्मिक ढङ्गले चित्रण गरेको कुरा कार्यक्रममा प्रशंसित भयो। शहरको जीवनयापनको चुनौती र गाउँ छाड्नुको पीडालाई कवि शाहले कवितामार्फत भावुकतापूर्वक उजागर गरेको विषयमा सहभागीहरूले आफ्ना विचारहरू राख्नुभएको थियो । त्यस्तै, मोतीराज बमको ‘…अर्थात कर्णाली’ ले कर्णाली क्षेत्रको जीवनशैली, संस्कृति र यहाँका मानिसहरूको संवेदनालाई कवितामार्फत जीवन्त बनाएको विश्वास सहभागीहरूले व्यक्त गर्नुभयो। दुवै कृतिहरूलाई नेपाली साहित्यको लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा देखिएको साहित्यप्रेमीहरूको उत्साहजनक सहभागिताले नेपाली साहित्यप्रतिको उनीहरूको गहिरो लगावलाई प्रष्ट पारेको थियो। नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै साहित्यिक चिन्तन र सिर्जनाको उत्साहपूर्ण माहोलले कार्यक्रमलाई सफल बनाएको सहभागीहरूको प्रतिक्रिया थियो। मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले यस्ता साहित्यिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै नेपाली साहित्यको समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

