काठमाडौं । वानीरा फाउन्डेसनले नेपाली भाषा साहित्यका प्राध्यापक तथा साहित्यकार रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली भाषा साहित्यको सिर्जनामा ६५ वर्षभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका तथा नेपालको उच्च शिक्षा क्षेत्रमा समेत उल्लेखनीय भूमिका खेल्नुभएका पाँडेलाई यो पुरस्कार प्रदान गरिने भएको हो।

एक लाख रुपैयाँ राशिको यो प्रतिष्ठित पुरस्कार २०८२ साल वैशाख १७ गते बुधबार काठमाडौंको नयाँ वानेश्वरस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा एक समारोहबीच प्रदान गरिनेछ। वानीरा फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ।

प्राध्यापक पाँडेको लामो साहित्यिक यात्रा र उच्च शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै वानीरा फाउन्डेसनले उहाँलाई यो पुरस्कार प्रदान गर्न लागेको जनाएको छ। यस पुरस्कारले नेपाली साहित्य र शिक्षा क्षेत्रमा उहाँको योगदानलाई थप उजागर गर्ने विश्वास लिइएको छ।