
काठमाडौँ । स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२ को प्रथम पुरस्कार कवि अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ ले जितेको छ ।
४०६ कवितामध्ये छनोट भएका उत्कृष्ट १० कविताको वाचनपछि घोषित परिणाम अनुसार भट्टराईले नगद ५१ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो ।
श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहद्वारा आयोजित यस प्रतियोगितामा द्वितीय पुरस्कार खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ (४१ हजार एक सय) र तृतीय पुरस्कार रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ (३१ हजार एक सय) ले प्राप्त गरेको छ । सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ ले शान्तवना पुरस्कार (प्रत्येक ११ हजार एक सय) प्राप्त गरेको छ ।
उत्कृष्ट १० मा छनोट भएका अन्य कविहरू – गोरखाका निशान निष्कर्ष (प्रकृतिको व्यायामशालामा आमा), सिन्धुपाल्चोकका सुन्दर शिरीष (अनि खतरा बन्छ अक्षर), सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठ (ईश्वरलाई अपिल), इलामका सुवास राई बाङ्देल (ईश्वर भेटिएको वक्तव्य), र धनकुटाका अनिल सुवेदी (भगवानको म्याराथुन) लाई पनि नगद पाँच हजार एक सय रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।
अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवस कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो । आयोजक समितिका संयोजक मुक्तिनाथ घिमिरेका अनुसार चैत मसान्तसम्ममा कविता पठाउन आह्वान गरिएको थियो । समूहका अध्यक्ष सन्तोष श्रेष्ठले यो नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता भएको दाबी गर्नुभएको छ । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका आठ जनालाई समेत सम्मान गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

