
पोखरा । शास्त्रीय संगीत समाज नेपाल, गण्डकीको आयोजनामा पोखरामा सम्पन्न ‘सल अफ स्ट्रिङ्स’ क्लासिकल कन्सर्टले श्रोताहरूको मन जितेको छ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजित यस कार्यक्रममा भारतका ख्यातिप्राप्त भोयलिन वादक पण्डित मैसुर मञ्जुनाथ र उहाँकी सुपुत्री मालवी मञ्जुनाथले आफ्नो जादुमय प्रस्तुति दिनुभएको थियो ।
राग हंसध्वनीबाट सुरु भएको कार्यक्रममा राग दरबारी, राग केदार र रघुपति राघव भजनले श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो । पण्डित मञ्जुनाथ र मालवीको सुमधुर भोयलिन वादनलाई ललितकला क्याम्पसका उपप्राध्यापक परशुराम पौडेल र अनन्त प्रजापतिले तबला वादनबाट सपोर्ट गर्नुभएको थियो । कार्यक्रममा तबलाको सोलो वादन पनि समावेश थियो।
कार्यक्रममा पोखराको स्थानीय लोकधुन समूह सयपत्री ब्यान्डले स्वागतार्थ लोक धुन प्रस्तुत गरेको थियो। शास्त्रीय संगीत समाज नेपाल, गण्डकीका अध्यक्ष श्यामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव एम्. डि. काफ्लेले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठले नेवारी संस्कृतिको ताल बाजा ‘खिं’ र दक्षिण भारतीय ताल बाजा ‘मृदङ्ग’ को समानता र भारतीय कर्नाटक संगीतका ज्ञाता भोयलिन वादकद्वयको प्रशंसा गर्नुभएको थियो । उहाँले यी दुई ताल बाजामा देखिने सामञ्जस्यताले एक–अर्कामा अपनत्व महसुस गराउने धारणा राख्नुभएको थियो ।
काठमाडौंबाट यतिराज अधिकारी र पोखराबाट परविन्दर सिंहले क्रमशः संयोजन र क्षेत्रीय संयोजनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । कार्यक्रमको सफलतामा खुशी व्यक्त गर्दै शास्त्रीय संगीत समाज नेपाल, गण्डकीका उपाध्यक्ष नवराज बरालले यसले पोखरेली श्रोतामा अमिट छाप छोड्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले भ्रमण वर्षको नारा बोकेको पोखरालाई सांस्कृतिक हब बनाउन यस्ता क्लासिकल कन्सर्ट नियमित हुनुपर्नेमा जोड दिनुभयो । ‘सल अफ स्ट्रिङ्स’ लाई पोखरेली शास्त्रीय संगीत क्षेत्रको एउटा कोसेढुङ्गाको रूपमा हेरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

