विराटनगर । साहित्यकार भवानीप्रसाद पोखरेलको बालकवितासङ्ग्रह ‘प्रयुसी’ को लोकार्पण भएको छ ।

विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारीको सभा हलमा आयोजित एक कार्यक्रममा साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा उक्त कृतिको लोकार्पण सम्पन्न भएको हो ।

कार्यक्रममा हरि कट्टेल र रामबाबु दाहालले लोकार्पित कृतिमाथि आलोचनात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । प्राज्ञ खेम नेपाली, लेखक तथा अनुसन्धाता केशु विरही, उपभोक्ता जागरण मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लगायतका विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कविता केशरी, बाबुराम पोखरेल, सुजता राई, भूपाल अधिकारी, कुमार श्रेष्ठ, रोहिणी रसिक, शुभलक्ष्मी लम्साल, जमुना पौडेल, पुष्पा सायरा, प्रिन्स प्रमोद ढकाल, नवराज पोखरेल ‘नवशिला’, नानुमैया दाहाललगायतका तीन दर्जनभन्दा बढी लेखक तथा स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरी कार्यक्रमलाई सफल बनाउनुभएको थियो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारीका अध्यक्ष एवम् साहित्यकार मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार गोपाल निर्भीकले गर्नुभएको थियो ।

२०१५ साल चैत १० गते खोटाङमा जन्मिनुभएको पोखरेल हाल विराटनगरमा स्थायी बसोबास गर्दै आउनुभएको छ । उहाँका यसअघि ‘दोषी को ? ’ (कथासङ्ग्रह), ‘लोडसेडिङ’, ‘स्वर्गद्वारी’, ‘सपना’, ‘होमियोप्याथिक (एक झलक)’, ‘हिमाल’ (कवितासङ्ग्रहहरू), ‘साहित्यका फूलहरू’ (समीक्षासङ्ग्रह), र ‘भवानी पोखरेलका कथा र अनुभूति’ गरी ९ ओटा विभिन्न विधाका साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन्। २०६६ सालमा निजामती सेवाबाट अवकाश लिएपछि साहित्य लेखनमा सक्रिय पोखरेल पछिल्लो समय समीक्षा लेखनमा केन्द्रित हुनुहुन्छ । ‘प्रयुसी’ उहाँको दशौँ कृति हो।