
नेपालको पहिलो मौलिक नाटककार पहलमान सिंह स्वाँरका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण नाटक तथा अन्य कृतिहरू प्रकाशन हुने भएको छ ।
पहलमान सिंह स्वाँर प्रतिष्ठानको पछिल्लो बैठकले स्वाँरका सम्पूर्ण नाटकहरूलाई तीन खण्डमा विभाजन गरेर प्रकाशन गर्न लागेको छ । त्यसबाहेक अन्य अप्रकाशित कृतिहरूलाई पनि क्रमशः प्रकाशन गर्दै जाने योजना बनाएको छ ।
प्रतिष्ठानले ती पुस्तकहरूको प्रकाशनको अख्तियारी साहित्यपोस्ट पत्रिकाको माउ संस्था शब्द मिडिया प्रा ली तथा त्यसका प्रधान सम्पादक अश्विनी कोइरालालाई सुम्पेको छ ।
अहिले सम्मको खोजी अनुसार स्वाँरले मौलिक, अनूदित र अछामी भाषामा सहित एक दर्जन नाटक लेख्नुभएको थियो । नेपाली साहित्यमा पहिलो दुखान्त नाटक लेख्न सफल स्वाँरले अछामी भाषामा पनि लालुभागा नामको नाटक लेख्नुभएको थियो । साहित्यका विभिन्न विधामा कलम चलाउनु भएका स्वाँरले काव्य विधामा- प्रेमामृत कविता सङ्ग्रह, बाल उपदेश, खोर रहस्य जस्ता कृतिहरू लेख्नुभएको थियो । त्यसबाहेक स्वाँरका अछामका चाडपर्व, स्वाँरको कुरा, जेलखानको नियम, नेपाल उद्योग कलकारखाना सामान्य नियम, कर सम्बन्धि सुझाव, एकलाख रुपियाँको चोरी (उपन्यास), योग दर्शन, रामायण किस्किन्धा काण्ड, भजनमाला लगायत ३२ कृतिहरू प्रकाशित छन् ।
हाललाई नाटकका तीन खण्ड प्रकाशन गर्ने र अरू कृति बिस्तारै प्रकाशन गर्दै जाने योजना स्वाँर प्रतिष्ठानका सदस्य व्रतराज आचार्यले बताउनु भएको छ ।
स्वाँर प्रतिष्ठानका अध्यक्ष ईश्वरी स्वाँरले पुस्तक प्रकाशनका लागि प्रतिष्ठानलाई एक लाक रुपियाँ प्रदान गर्नुभएको जानकारी प्रतिष्ठानले दिएको छ ।
पहलमान सिंह स्वाँरको जन्म विसं १९३५ मा सुदूरपश्चिमको अछाम जिल्लाको रिडिकोटमा बुवा लक्ष्मीसिंह स्वाँर र आमा डीकरा देवी स्वाँर(पानमता)को कोखबाट भएको थियो । सात दाजुभाइमध्ये उनी सबैभन्दा कान्छा थिए । सम्पन्न परिवारमा जन्मेकाले उनको बाल्यकाल राम्रोसँग नै बित्यो । १६ वर्षको उमेरमा नै उनले सरकारी सेवामा प्रवेश गरेका थिए । बहुप्रतिभाका धनी भाषा, साहित्य, सामाजिक चेतना परिवर्तनमा विशेष योगदान छोड्न सफल स्वाँरले त्यस बेला समाजमा रहेको बालविवाह, बहुविवाह, छुवाछुत, जातपात जस्ता कुरामा विरोध जनाएको पाइन्छ ।
उनका अटलबहादुर नाटक सहित अन्य पुस्तक प्रकाशन भए पनि ती पुस्तक अपर्याप्त भएकाले नयाँ प्रकाशन गर्नुपरेको साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले बताउनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

