
घोराही । राजनीतिमा सक्रिय युवा जनक सीलाई ‘उत्कृष्ट पाठक–२०८१’ बाट सम्मानित गरिएको छ। अध्ययन मञ्च दाङले अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर बुधबार घोराहीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरेको हो।
अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीका अनुसार, ”निरन्तर किताब अध्ययन गर्ने, ज्ञानको तीव्र चाहना राख्ने वा भनौँ साँचो अर्थमा किताबलाई माया गर्नेहरू मध्येबाट उत्कृष्ट पाठक छनोट गरी हामीले सम्मानित गर्ने गरेका छौँ।” समाजमा किताब पढ्ने चलन बढाउन र पठन संस्कृतिलाई प्रोत्साहन गर्न मञ्चले विविध कार्यक्रमहरू आयोजना गर्दै आएको उहाँले बताउनुभयो। वार्षिक रूपमा आयोजना हुँदै आएको यो उत्कृष्ट पाठक सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बिसीले जानकारी दिनुभयो।
सम्मान ग्रहण गर्दै जनक सीले आफ्नो छोटो मन्तव्यमा भन्नुभयो, ”किताब पढ्न थालेको त्यस्तै डेढ वर्ष भयो होला तर लत यस्तो बसेको छ कि कतै अलिकति समय खाली बस्नुपरे किताबकै याद आउँछ। यात्रामा साथै लिएर गएको पुस्तक पढेर सकियो भने अर्को किताबको अभाव खड्किन्छ।” उहाँको यस अभिव्यक्तले पठनप्रतिको उहाँको गहिरो लगाव झल्काउँछ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका मधुसूदन गौतमको अध्यक्षता र भाषा आयोगका सदस्य डा. अमर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले पठन संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। यस कार्यक्रमले युवा पुस्तालाई पठनतर्फ आकर्षित गर्न र ज्ञानको खोजीमा लाग्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

