काठमाडौं । विश्व पुस्तक दिवसको अवसरमा रिडर्स हबले आयोजना गरेको पुस्तक आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। बुधबार गान्धीमोड काँडाघारीमा सम्पन्न कार्यक्रममा साहित्यकार, पुस्तक प्रेमी तथा कविहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा प्रा.डा. सनतकुमार वस्तीले महाभारतको लेखन शैलीबारे रोचक प्रस्तुति दिनुभयो। उहाँले व्यासले कसरी महाभारत भने र गणेशले कसरी लेखे भन्ने विषयमा प्रकाश पार्दै आजको पुस्तामा पनि पुस्तकप्रतिको रुचि कायमै रहेको धारणा राख्नुभयो।
यसैगरी, प्रा.डा. कुमारप्रसाद कोइरालाले लिपिको विकास नहुँदा मानिसहरूले आफ्ना विचारहरू मस्तिष्कमै पुस्तकको रूपमा लेख्ने गरेको बताउनुभयो। कार्यक्रमका अर्का वक्ता प्रकाश सायमीले सन् २००२ देखि नेपालमा विश्व पुस्तक दिवस मनाउँदै आएको उल्लेख गर्दै अप्रिल २३ तारिखका दिन एकेडेमी लगायतका संस्थाहरूले सामूहिक पुस्तक विमोचन तथा ओझेलमा परेका पुराना पुस्तकहरूको पुनः प्रकाशन गर्ने कार्यक्रमलाई दिवसको सार्थकताका रूपमा लिन सकिने बताउनुभयो।
कार्यक्रमका आयोजक बन्दना अर्याल र अनुप आचार्यले पुस्तक प्रेमीहरूका लागि पठन वातावरण निर्माण गर्ने आफ्नो प्रयासको बारेमा जानकारी गराउनुभयो।
कार्यक्रममा राधेश्याम ढकाल, निशा केसी, बिटु केसी, शरद प्रधान, विक्रमभक्त जोशी, राजु दाहाललगायतका कविहरूले आ-आफ्ना रचनाहरू वाचन गरी सहभागीहरूलाई मोहित पार्नुभएको थियो । त्यसैगरी, सूवर्ण कर्माचार्य, किलेश्वर मल्ल, प्रवीण ढुंगेल, शैलेश सिंह लगायतले आफ्नो पठन अनुभव सुनाउँदै पुस्तक पढ्ने महत्वमाथि प्रकाश पार्नुभएको थियो । पुस्तक आदानप्रदान कार्यक्रमले सहभागीहरूमा उत्साह थपेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 









