
क्यालिफोर्निया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्दन क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८२ को भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
क्यालिफोर्नियाको रिचमण्डस्थित नेपाली कम्युनिटी सेन्टरमा आयोजित यस कार्यक्रममा कला, साहित्य र संस्कृतिको मनमोहक सम्मिश्रण देख्न पाइएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण कविता, गीत र नृत्यका प्रस्तुतिहरू थिए। साहित्यिक सत्रमा अध्यक्ष बाबु आचार्य, वरिष्ठ उपाध्यक्ष रिता देवी प्रधान, उपाध्यक्ष दीपक पाठक, सचिव भरत डाँगी लगायतका कविहरूले आ–आफ्ना रचनाहरू प्रस्तुत गरेर श्रोताहरूलाई मोहित बनाउनुभएको थियो । बासुदेव घिमिरे, अमर तामाङ, इन्दु तामाङ, डा. टिका लम्साल, प्रा. भरतराज कोइराला र जनकराज ढुङ्गाना जस्ता प्रतिष्ठित कविहरूको सहभागिताले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।
गीत संगीत र नृत्य प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो। स्वयंसा र स्रियान्सु पोखरेल कार्की, करुणा अधिकारी सन्ज्याल, सोबे धिताल, भौतिक गोले, र रसिक थापा लगायतले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । गायक कृष्ण महर्जन र अङ्कित सुनार तथा चर्चित गायिका नलिना चित्रकारका सुमधुर गीतहरूले कार्यक्रमलाई सङ्गीतमय बनाएको थियो । नारायण भट्टराईको हास्यव्यङ्ग्य प्रस्तुतिले हलमा हास्यको लहर ल्याएको थियो।
कार्यक्रमको सुरुवात अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका महासचिव नारायण भट्टराई र कोषाध्यक्ष किरण कट्टेलले गर्नुभएको थियो । न्यान्सका अध्यक्ष प्रितेश कार्कीले सामुदायिक भवन खरिदमा योगदान गर्ने सम्पूर्ण बे एरियाका नेपाली समुदायलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने च्याप्टर अध्यक्ष बाबु आचार्यले अनेसासका भावी योजनाहरूबारे जानकारी गराउनुभएको थियो ।
नयाँ वर्षको मेलासँगै आयोजित यस कार्यक्रममा नेपाली संस्कृति र साहित्यको जीवन्त प्रदर्शन भएको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरू नलिना चित्रकारका गीतमा झुमेर नाच्नुभएको थियो, जसले कार्यक्रमलाई एक अविस्मरणीय अनुभव बनाएको थियो। यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, साहित्य र संस्कृतिसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

