काठमाडौँ । साहित्यिक पत्रकार सङ्घको आयोजनामा कथाकार डा. अमर कार्कीको कृति ‘क्षितिजपारी’ कथासङ्ग्रहको लोकार्पण सम्पन्न भएको छ।
प्रमुख अतिथि साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठ साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थितिमा सामुहिक रूपमा कृतिको लोकार्पण भएको थियो ।

कार्यक्रममा प्राडा. श्रेष्ठले ‘क्षितिजपारी’ ले समाजलाई नयाँ सन्देश दिएको र कथाहरूमा नयाँपन रहेको बताउनुभयो । उहाँले कथाकार कार्कीको सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको कामना गर्नुभयो । यसैगरी, विशिष्ट अतिथि आख्यानकार माया ठकुरीले कथाकार कार्कीलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गर्नुभयो ।

समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्कीले सङ्ग्रहमा समावेश बाह्र कथाहरूको समीक्षा प्रस्तुत गर्दै ती कथाहरूले समाजमा रहेका विविध आयामहरूलाई उजागर गरेको र पाठकहरूलाई गहिरो चिन्तनमा डोर्‍याउने कुरामा जोड दिनुभयो। उहाँले कथाहरूको विषयवस्तु र शैलीको विश्लेषण गर्दै डा. कार्कीको लेखन शैलीको प्रशंसा गर्नुभयो ।

लोकार्पित कृतिका सर्जक डा. कार्कीले आफ्नो साहित्यिक यात्रा, कथा सिर्जनाको प्रेरणा र आफ्नो जीवनमा आमाको महत्त्वबारे मार्मिक रूपमा चर्चा गर्नुभयो । उहाँले कार्यक्रममा ‘आमा’ र ‘नयाँ वर्ष’ शीर्षकका कविता पनि वाचन गर्नुभयो ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै सङ्घको भूमिकाबारे जानकारी गराउनुभयो । उहाँले कथाकार कार्कीको सिर्जनशील जीवनको कामना गर्दै उहाँको कृतिले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण साहित्यकार मन्जिला अनिलले गर्नुभएको थियो भने कृतिको प्रकाशन संस्था ‘भुँडीपुराण’का केशव पराजुलीले पुस्तक प्रकाशनको प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा कथाकार कार्कीलाई सम्मानसमेत गरिएको थियो। यसैगरी, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, र प्रमुख वक्ता सहित साहित्यकार विक्रमभक्त जोशी, उषा के.सी., राजन नेउपाने र गायिका रितु कँडेललाई मायाको चिनो प्रदान गरिएको थियो। समग्रमा, “क्षितिजपारी” कथासङ्ग्रहको लोकार्पण कार्यक्रम साहित्यिक उत्सवको रूपमा सम्पन्न भएको छ।