
नेपालगन्ज । कवि, समालोचक महेश पौड्यालको एकल कविता वाचन तथा विमर्श कार्यक्रम आइतबार नेपालगन्जको अलाइड कलेजमा सम्पन्न भएको छ । कार्यक्रममा पौड्यालले आफ्ना डेढ दर्जनभन्दा बढी कविताहरू सुनाउनुभएको थियो, जसमा समसामयिक विषय, देशप्रेम, सीमाना र प्रेमजस्ता विविध पक्ष समेटिएको थियो ।
पौड्यालले वाचन गरेको ‘जमीन’ शीर्षकको कविता अंश यस प्रकार छ:
जमिन नछोड सोल्टी,
टेक्ने ठाउँ चाहिन्छ ।
प्वाँख छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र चराहरू
बादल पनि त घर फर्कन्छ, बर्सात बनेर ।
जमिन नछोड सोल्टी,
टेक्ने ठाउँ चाहिन्छ ।
यस कवितासँगै उहाँले ‘नाम’ शीर्षकको कविता पनि वाचन गर्नुभयो जसमा उहाँले आफ्नै सहर निर्माण र ध्वंसको भावनात्मक चित्रण गर्नुभएको थियो
आफैँले बनाएँ यो सहर
आफैँले ध्वस्त पारेँ ।
खरानीको यस रासमाथि
कतै मेरो नाउँ लेखिएको अवशेष बाँकी छ कि
अहिले म त्यसैको खोजीमा छु ।
कार्यक्रममा कवि पौड्यालले आफू समालोचकको भूमिकामा उभिएपछि आलोचना खेप्नुपरे पनि कविता वाचनले त्यसको क्षतिपूर्ति गर्ने बताउनुभयो । उहाँले नेपालगन्जलाई स्वादको सहर भन्दै प्रशंसा पनि गर्नुभयो ।
कवि कपिल अन्जानले कवितामा नयाँ पुस्तालाई जोड्ने अभियानलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पश्चिम क्षेत्रमा नयाँ पुस्ताका साहित्यकारहरूको उपस्थिति कम हुँदै गएको सन्दर्भ उल्लेख गर्दै यस्ता कार्यक्रमको महत्त्वमा जोड दिनुभयो ।
कार्यक्रममा साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरे, कलेजका संस्थापक डा. रेवती सिंह, प्रिन्सिपल शिशिर सापकोटा लगायतले आ–आफ्नो धारणा राख्दै यस किसिमका रचनात्मक कार्यक्रमले विद्यार्थीहरूलाई साहित्यप्रति आकर्षित गर्ने र प्रोत्साहित गर्ने बताउनुभयो । कवि डा. देवेन्द्र आचार्यले नेपाली साहित्यलाई विस्तार गर्न स्कुल, कलेज र सार्वजनिक स्थलहरूमा यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कविहरू मणि अर्याल, चन्द्रावती अधिकारी, विपि अस्तु, खेम बगर, प्रवेश शाह, बिना रोका लगायत २०० भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

