
बैंकक । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यिक अन्तरक्रिया गर्नुभएको छ।
नयाँघरेसँगको अन्तरक्रियामा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले आ-आफ्ना रचना र विचारहरू प्रस्तुत गर्दै साहित्यका विविध विधामाथि छलफल गर्नुभएको थियो ।
नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने धारणा राख्नुभयो । उहाँले म्यान्माली नेपाली साहित्यकारहरूलाई थाइल्यान्ड बसाइँको अनुभवलाई कलात्मक ढंगले सिर्जनामा उतार्न प्रोत्साहन दिँदै शुभकामना व्यक्त गर्नुभयो ।
साहित्यिक भेटघाट प्रेरणादायी, भावनात्मक र स्मरणीय वातावरणमा सम्पन्न भएको थाई नेपाली ‘आदर्श’ पुस्तकालयका अभियन्ता राज पौड्यालले बताउनुभयो ।
कार्यक्रममा नयाँघरेको पछिल्लो कृति ‘तनक्खा’लाई केन्द्रमा राखेर व्यापक छलफल भएको थियो । ‘तनक्खा’ दक्षिणपूर्वी एसियाली मुलुक म्यान्माका विभिन्न गन्तव्यहरूमा आधारित नियात्रासंग्रह हो जसमा म्यान्माली नेपाली समाजको जीवन, सभ्यता, संस्कृति, धर्म, सार्वजनिक सरोकार र ऐतिहासिक पृष्ठभूमिको सूक्ष्म चित्रण गरिएको छ।
म्यान्मालीहरूको भाषिक, सांस्कृतिक र सामाजिक अवस्थाबारे प्रस्तुत विवरणहरूले कार्यक्रममा थप गहिराइ र भावुकता थपेको थाइल्यान्डमा रहनुभएको पत्रकार लोकेन्द्र ओलीले बताउनुभयो । ओलीले बैंककको यस साहित्यिक साँझले प्रवासमा रहेर पनि नेपाली साहित्यको चेतना, भावना र अभिव्यक्तिलाई जीवन्त राख्न सकिन्छ भन्ने आभाष गराएको बताउनुभयो ।
कार्यक्रममा अशोक घिमिरे, तिलक पोखरेल, दीपा राना, रीत निरौला गुरागाईं, लोकेन्द्र ओली, कोमल भट्टराई, राज पौड्याल, गंगा बस्नेत, भारती अधिकारी, विना ढकाल, र करुणा भुजेल लगायतको सहभागिता रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

