काठमाडौँ । स्रष्टा राजबाबु श्रेष्ठ सागरद्वारा लिखित कथासङ्ग्रह ‘फिर्दोसको साँचो’ लोकार्पण भएको छ।

समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. डा. अर्चाना थापा, समालोचक स.प्रा. अनुपमा रेग्मी र स्रष्टा सागर स्वयंले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा कथाकार तथा समालोचक डा. अशोक थापाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रथम वक्ता समालोचक अनुपमा रेग्मीले सङ्ग्रहमा समावेश कथाहरूको सशक्तता र बहुआयामिक चित्रणको प्रशंसा गर्दै थोरै समयमा न्याय गर्न नसकिने धारणा राख्नुभएको थियो । त्यसैगरी, दोस्रो वक्ता प्रा. डा. अर्चना थापाले पुस्तक ढिलो गरी हातमा परेकाले यसलाई पूर्ण रूपमा पढ्न र मूल्याङ्कन गर्न नपाएको बताइउनुभयो।

समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीले लेखक सागरको रोमान्टिक लेखकत्वलाई उजागर गर्दै कथाहरूमा स्वैरकल्पना, यथार्थवाद र अतियथार्थवादको प्रयोगलाई उल्लेख गर्नुभयो । उहाँले कथामा प्रयोग भएका विभिन्न साहित्यिक शैली र सिद्धान्तहरूको विश्लेषण प्रस्तुत गर्नुभयो ।

लेखक राजबाबु श्रेष्ठ सागरले प्रा.डा. अर्चना थापाले उठाएको सौन्दर्यको सवाललाई आफ्नै मौलिक ढङ्गले प्रस्तुत गर्नुभयो । उहाँले आँखाको निर्माण र दृश्यपानको क्षमताको व्याख्या गर्दै, नारी पात्रको चित्रणमा सौन्दर्य, चरित्र, घटना, परिवेश र संस्कृतिलाई समावेश गर्दा कथा पूर्ण र रोचक बन्दैन भन्ने धारणा राख्नुभयो । उहाँले सर्पको उदाहरण दिँदै प्रकृतिको वास्तविक स्वभाव र मानवीय दृष्टिकोणबीचको भिन्नतालाई स्पष्ट पार्नुभयो ।

कार्यक्रमको सञ्चालन डा. हेम भण्डारीले गर्नुभएको थियो । ‘फिर्दोसको साँचो’ कथासङ्ग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।