
काठमाडौं । नेपाल गजल प्रतिष्ठानले शनिबार आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा सांगीतिक गजल गुञ्जन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा १३ जना चर्चित गजलकारहरूका गजलहरू प्रस्तुत गरिएको थियो ।
सुमी पोख्रेल, रोमा लम्साल, खिम पुन, लोकेश संघात, विनोद बिम्बित, अनजान यात्री, अविनाश सापकोटा, आँचल कुमार शर्मा, नृपेश उप्रेती, प्रमोद थापा, टक गुरुङ, प्रदीपकुमार मैनाली र भोजराज घिमिरेका गजलहरू चर्चित गायकगायिकाहरू सन्तोष श्रेष्ठ, राज सागर, बबिना भट्टराई, झुमा निरौला, भविन ढुङ्गाना, लालकाजी श्रेष्ठ, अजर जङ्गम, जलजला परियार, आवाज शर्मा, रोशा फुँयाल, दीपिका श्रेष्ठ, अमिर परियार र प्रशान्त पोखरेलले गाउनुभएको थियो ।
गजलको संगीत र संगीत संयोजन चण्डी प्रसाद काफ्ले, रवि प्रञ्जल, करुण थापा, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ, भविन ढुङ्गाना र आवाज शर्माले गर्नुभएको थियो । कार्यक्रममा दुई वर्षमा प्रकाशित गजल संग्रहहरू मध्ये प्रमोद थापाको ‘अन्दाज’ लाई निर्मला घिमिरेद्वारा स्थापित ३५ हजार रुपैयाँको ईशा पुस्तक पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी, ‘के लत बस्यो मलाई’ का गजलकार डा. प्रदीप कुमार मैनालीद्वारा स्थापित ‘के लत बस्यो’ पुरस्कार गजलकार बसन्ता बराललाई प्रदान गरिएको थियो ।
नेपाली गजलको सम्बर्धन र प्रवद्र्धनको उद्देश्यले स्थापित प्रतिष्ठानले राजधानी र मोफसलमा ६ वटा सांगीतिक मुशायरा र आधा दर्जनभन्दा बढी गजल मुशायरा सम्पन्न गरिसकेको छ। प्रतिष्ठान अन्तर्गत दुई वटा अनलाइन गजल अभ्यासशाला पनि सञ्चालनमा छन्। प्रतिष्ठानले हरेक वर्ष विश्वव्यापी गजल प्रतियोगिता गर्दै विजेताहरूको गजल संग्रह पनि प्रकाशन गर्दै आएको छ।
अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार, आगामी मोती जयन्तीमा सांगीतिक गजल गायन कार्यक्रम र गजल क्षेत्रमा उल्लेखनीय योगदान दिने एक जना गायक र एक जना संगीतकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
