काठमाडौँ । लेखक, कवि तथा गीतकार भूपाल राईको निबन्ध संग्रह ‘शब्द सायारेम’ आज नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ। कार्यक्रममा वक्ताहरूले राईको लेखन शैली र निबन्ध संग्रहको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।
खगेन्द्र संग्रौलाले आफ्नो मन्तव्यमा भूपाल राईलाई ‘तानाशाहलाई प्रश्न गर्ने बहुला’ को संज्ञा दिँदै उहाँको बागी विचारलाई सभ्यताको विकासको आधारस्तम्भको रूपमा चित्रण गर्नुभयो। उहाँले कोलम्बस र पृथ्वीनारायण शाहमाथि उठाइएका प्रश्नहरूलाई उदाहरण दिँदै राईको लेखनको साहसिकताको प्रशंसा गर्नुभयो।
गोपाल ठाकुरले ‘तपाईंको पहाड घर कहाँ हो?’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको यथार्थ चित्रण भन्दै प्रशंसा गर्नुभयो। उहाँले यस निबन्धलाई दृष्टिविहीनका लागि आँखा दानसँग तुलना गर्दै नेपाली भाषाको महत्त्व र भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थालाई तोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस पुस्तकले त्यही भाष्य तोड्ने प्रयास गरेको बताउनुभयो।
भोगिराज चाम्लिङले ‘पहाड घर कहाँ हो?’ निबन्धलाई नेपाली समाजको सिंगो चित्रण भन्दै प्रशंसा गर्नुभयो। उहाँले निबन्धको शैलीलाई किराती राईहरूको साकेला नाचसँग तुलना गर्दै यसलाई भूपाल राईको लेखन यात्राको सबैभन्दा उच्चतम कृति भनेर प्रशंसा गर्नुभयो।
कुमारी लामाले भूपाल राईको कविताले इतिहास खोज्न प्रेरित गर्ने र ‘शब्द सायारेम’ विचार र भावनाको जब्बर निबन्ध संग्रह भएको बताउनुभयो। उहाँले यसमा रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिको कुरा समेटिएको उल्लेख गर्नुभयो।
डा. डम्बर चेम्जोङले पुस्तकको कलेवर प्रशंसा गर्दै, सामाजिक इतिहास र शब्दको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले राईको लेखनमा पुर्खाहरूको स्मृति र जीवनको ऐतिहासिकता र वैचारिक पक्षको प्रतिबिम्ब देखेको बताउनुभयो।
भूपाल राईले वक्ताहरू र उपस्थित साहित्यप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्दै ‘शब्द सायारेम’ कवि चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको संग्रह भएको जानकारी दिनुभयो। कार्यक्रम भूपेन्द्र खड्काले सञ्चालन गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 










