
खोटाङ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौंको सहकार्यमा खोटाङको खोटेहाङ प्रज्ञा–प्रतिष्ठानले दुईदिने साहित्य सङ्गोष्ठी तथा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। चैत २७ र २८ गते आयोजित कार्यक्रममा स्थानीय भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले खोटाङमा मात्र पाइने पुमा, तिलुङ, कोयी र दुमीजस्ता किरात राई भाषाको संरक्षण नगरे विश्वबाटै लोप हुने खतरा औंल्याउँदै यस्ता भाषाको सिर्जनात्मक प्रस्तुति आवश्यक रहेको बताउनुभयो। नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकोले यहाँका सबै वाङ्मयको संरक्षण, प्रवर्द्धन र प्रयोगमा जोड दिनुपर्ने उहाँको सुझाव थियो। डा. सुवेदीले साहित्य लेखन नेपाली भाषामा मात्र सीमित हुनुहुँदैन भन्ने धारणा राख्नुभयो।
उहाँले नेपालमा सङ्घीय सरकार मातहत तीनवटा प्रज्ञा–प्रतिष्ठान रहेको र स्थानीय तहका प्रतिष्ठानले ती तीनवटैको काम गर्नुपर्ने नीति रहेको बताउनुभयो। नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको काममा चुनौती र अवसर दुवै रहेको उहाँको भनाइ थियो। स्थानीय प्रतिष्ठानले तदारुकताका साथ काम गरेमा सहकार्य निरन्तर गर्न सकिने र प्राज्ञिक क्षेत्रमा काम गर्न उत्सुकता, जिज्ञासा र प्रतिबद्धताको खाँचो रहेको उहाँले बताउनुभयो। भावी पुस्तालाई सांस्कृतिक कोसेली दिन प्राज्ञिक क्षेत्रमा काम गर्नुपर्ने उहाँको जोड थियो।
कार्यक्रमको पहिलो दिन साहित्यिक विधाको परिचय र लेखन कलाबारे छलफल गरियो। गीत, कविता, कथा, उपन्यास, निबन्धलगायत विधाका संरचना र लेखन शैलीबारे प्रशिक्षण दिइएको थियो। दोस्रो दिन सहभागीले आफ्ना सिर्जना वाचन गरी प्रतिक्रिया लिने कार्यक्रम राखिएको थियो।
विशेष अतिथि कवि तथा समालोचक विष्णु ज्ञवालीले कविता सरल देखिने तर सबैभन्दा जटिल विधा भएको र सिर्जनात्मकता जति फैलाउन सकियो त्यति राम्रो हुने बताउनुभयो। प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपानेले आख्यान लेखनमा यथार्थतालाई पाठकसम्म पुर्याउनुपर्ने र तथ्य तथा तथ्याङ्कलाई जस्ताको तस्तै राखेर पाठकलाई रिझाउन सके सफलता प्राप्त हुने बताउनुभयो। कार्यक्रममा खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राई, वडा नं. ४ का अध्यक्ष तिलकबहादुर बस्नेत र समाजसेवी अमर बस्नेतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका सदस्य, साहित्यकार, शिक्षक र विद्यार्थीको सहभागिता थियो। प्रशिक्षणपछि सहभागीले सिर्जना गरेका कविता, गजल र कथा सुनाउनुभएको थियो । प्रशिक्षक र प्रशिक्षार्थीलाई क्रमशः कदरपत्र र प्रमाणपत्र प्रदान गरिएको थियो। खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङ्गेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत राजकुमार खड्गाले र धन्यवाद देवराज सापकोटाले गर्नुभएको थियो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा खोटेहाङ प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित “दस दिने आधारभूत नृत्य तथा गायन प्रशिक्षण” पनि अहिले सञ्चालन भइरहेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

कोलकातामा नागार्जुन र युद्धप्रसाद मिश्रको रचनाकर्ममा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
