काठमाडौँ । नयाँ वर्ष २०८२ को शुभकामनासँगै ठमेलमा एक रमणीय काव्योत्सव सम्पन्न भएको छ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजना र चिस्वहाल परिवार, ठमेलको सहआयोजनामा सम्पन्न उक्त काव्योत्सवमा तीन दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन गरी साहित्यिक वातावरणलाई जीवन्त बनाउनुभएको थियो ।

ठमेलस्थित चिस्वहालमा सम्पन्न कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारी, कवि तथा निर्देशक राजेन्द्र शलभ र लोकगायक मच्छेश्वर सापकोटाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

वडाध्यक्ष तिवारीले आफ्नो शुभकामना सन्देश दिँदै कविहरूको कलम समाजलाई व्यवस्थित र सकारात्मक बनाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकार्यका लागि आफ्नो तर्फबाट सधैँ तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । लोकगायक सापकोटाले लोकगीत प्रस्तुत गर्दै विकृति र विसंगति विरुद्ध बलियो आवाज उठाउनु पर्ने आवश्यकता औंल्याउनुभयो। कवि राजेन्द्र शलभले आफ्नो रचना वाचन गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अतिथि स्नेह सायमीले चिस्वहालको बारेमा प्रकाश पार्दै कविता वाचन गर्नुभएको थियो ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सुनकोसी वाङ्मय प्रतिष्ठानले स्थापनाको सुरुमै यति धेरै साहित्यिक गतिविधि सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो।

काव्योत्सवमा श्रीबाबु कार्की, डा. अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियश रत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, दिपक चौलागाई, सुष्मा आचार्य अंशु, शशीश्री आचार्य, रुपा रिसाल, ध्रुव थापा पुरुष, राजुबाबु श्रेष्ठ, माधव विंडारी, लक्ष्मण सापकोटा, रमा अधिकारी, कादम्बरी गंगा थापा अधिकारी, मिनकुमार नबोदित, पूर्णबहादुर श्रेष्ठ ह्रदयंकृत, विष्णु थापा, गोविन्दराज पौडेल लगायतका तीन दर्जन कविहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमले ठमेललाई साहित्यिक रसले भरिपूर्ण बनाएको थियो।