
काठमाडौँ । नेपाली साहित्य र कला क्षेत्रकी चर्चित पात्र पारिजातको स्मृतिमा स्थापित ‘पारिजात स्मृति सम्मान’बाट यस वर्ष चार जना स्रष्टा सम्मानित हुनुभएको छ ।
पारिजात स्मृति दिवसको अवसर पारेर आज काठमाडौँमा आयोजित एक समारोहमा पारिजात स्मृति केन्द्रले यी स्रष्टाहरूलाई सम्मान प्रदान गरेको हो ।
यस वर्षको ‘पारिजात कला सम्मान’ मूर्तिकार उत्तम डङ्गोलले प्राप्त गर्नुभयो । सामाजिक रुपान्तरणका लागि कलाको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै डङ्गोललाई यो सम्मान प्रदान गरिएको हो । लामो समयदेखि कला क्षेत्रमा सक्रिय डङ्गोल दर्जनौँ एकल तथा समूहगत कला प्रदर्शनीमा सहभागी भइसकेका अनुभवी कलाकार हुनुहुन्छ ।
त्यसैगरी, बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ ‘पारिजात बाल साहित्य सम्मान’, साहित्यकार बिना थिङ ‘पारिजात सृजना सम्मान’ र डा. विन्दा पाण्डे ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट सम्मानित हुनुभएको छ । तीनै जनाले नेपाली साहित्य र समाजमा आ-आफ्नो क्षेत्रबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पारिजात स्मृति केन्द्रले सम्मान प्रदान गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले आज एक समारोहका बीच नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । गत फागुन ३० गते पारिजातको जन्मजयन्तीको अवसरमा सम्मानित हुनुहुने स्रष्टाहरूको नाम घोषणा गरिएको थियो ।
सम्मानित स्रष्टाहरूले पारिजातको नाममा सम्मान प्राप्त गर्न पाउँदा गौरवान्वित महसुस भएको र यस सम्मानले आफूहरूलाई थप जिम्मेवारी बोध गराएको बताउनुभएको छ । पारिजात स्मृति केन्द्रले यस सम्मानले नेपाली साहित्य र कला क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

