
घोराही । राष्ट्रिय भाषा आयोगका सदस्य डा. अमर गिरीले अध्ययन संस्कृतिबाटै विचार निर्माण हुने धारणा राख्नुभएको छ ।
दाङको घोराहीमा शुक्रबार आयोजित एक विमर्शमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा ‘विचार निर्माणमा अध्ययन संस्कृति’ विषयक विमर्श कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै डा. गिरीले आज अध्ययन गर्ने परम्परा निकै कमजोर बन्दै गएको बताउनुभयो । उहाँले अध्ययन गर्नु भनेको विचार निर्माणसँग प्रत्यक्ष जोडिएको कुरा उल्लेख गर्दै अध्ययन नगर्ने हो भने विचार नबन्ने र विचार नबन्ने हो भने समाज पनि नबन्ने धारणा राख्नुभयो । उहाँले समाजका सचेत व्यक्तिहरू यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
दाङमा अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको मञ्चका संयोजक सूर्य बिसीले जानकारी दिनुभयो । कार्यक्रममा पुरुषोत्तम खनाल, डा. टीकाराम उदासी, यज्ञ बहादुर डाँगी, देवेन्द्र कुमार रिजाल, मधुसूदन गौतम, गोविन्द खड्का, लक्ष्मी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
सूर्य बिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन थम्मन बस्नेतले गर्नुभएको थियो भने विमर्शको सहजीकरण प्रमोद धितालले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

