
बुटवल । ख्याती प्राप्त शान्तिदूत, बहु-विधाका गिनिज वर्ल्ड रेकर्ड होल्डर तथा सर्वाधिक बिक्री भएका पुस्तकका लेखक श्री प्रेम रावत एक दशकभन्दा लामो समयपछि नेपाल आउँदै हुनुहुन्छ।
विगत ५५ वर्षदेखि विश्वभर शान्ति, आत्मचेतना र आन्तरिक परिपूर्णताको सन्देश फैलाउँदै आउनुभएका रावतले नेपालमा विशेष शान्ति सन्देश कार्यक्रम गर्दै हुनुहुन्छ।
२०८२ वैशाख ६ गते शनिवार, रूपन्देहीको सैनामैना नगरपालिका–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने यस कार्यक्रम बिहान ७:३० बजेदेखि १०:०० बजेसम्म चल्नेछ। आत्मज्ञान प्रचार संघ नेपालले आयोजना गरेको यस कार्यक्रममा रावतले आफ्नो जीवन्त शान्तिको सन्देश प्रस्तुत गर्नुहुनेछ।
हालै भारत भ्रमणका क्रममा रायपुर, मिर्जापुर र देहरादुनमा हजारौं श्रोतालाई सम्बोधन गर्दै रावतले आन्तरिक शान्ति प्रत्येक व्यक्तिको मौलिक आवश्यकता भएकोमा जोड दिनुभएको थियो। उहाँले आफ्नो श्वासप्रश्वासलाई सृष्टिकर्ताको उपहारको रूपमा लिई त्यससँगको सम्बन्ध स्थापित गर्न सिक्नु जीवन परिवर्तनको आधार भएको बताउनुभयो। “स्वर्ग र नरक यहीँ छन्,” उहाँले भन्नुभयो, “क्रोध र अहंकारमा नरक, प्रेम र कृतज्ञतामा स्वर्गको अनुभूति गर्न सकिन्छ।”
रावतले आफ्ना श्रोताहरूलाई आफूभित्र हेर्न र आन्तरिक शान्तिको खोजी गर्न प्रेरित गर्नुहुन्छ। “आफ्नो आँखा खोल्नुहोस् अनि आफूभित्र हेर्नुहोस्,” उहाँ भन्नुहुन्छ, “त्यसपछि पहिलादेखि नै तपाईँभित्र रहेको त्यस चिजलाई अनुभव गर्न सक्नुहुनेछ।” उहाँले यसलाई “ज्ञान” भन्नुहुन्छ, जुन शब्द मात्र नभई अनुभव गर्ने तरिका पनि हो।
रावतले स्थापना गर्नुभएको द प्रेम रावत फाउन्डेसनले सञ्चालन गर्ने ‘Peace Education Program’ संसारका ८७ भन्दा बढी देशहरूमा ४६ भाषामा सञ्चालित छ। यसले ५ लाख भन्दा बढी व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

