
उद्धव देवकोटा
तिलोत्तमा । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको आठौँ शृङ्खला तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका वार्ड नं. १ की वार्ड सदस्य गीतादेवी न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रम नगरपालिकाको ड्राइभरटोलस्थित सहिद गङ्गालाल पुस्तकालयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पुस्तकालय सञ्चालक समितिका सदस्य लक्ष्मण ज्ञवालीले तिलोत्तमालाई साहित्यिक जागरणको उर्वर भूमि बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । डा. मुरारी पराजुलीले वाचन गरिएका रचनाहरूको समीक्षा गर्दै साहित्य सङ्गमको महत्त्वमा प्रकाश पार्नुभएको थियो भने संस्थाका साहित्यतर्फका उपाध्यक्ष कविराज पौडेलले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा लक्ष्मण ज्ञवाली, गुरुदत्त ज्ञवाली, तेजप्रसाद पाण्डे, रामप्रसाद बश्याल, कविराज पौडेल, हुमराज भुसाल, अंकित गिरी, मित्र गौतम, लीलाधर प्रतीक, मोहन मरासिनी, सिजरिका जिसी, डी. आर. न्यौपाने, सागर केसी, ढालानन्द चालिसे लगायतका स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष डा. पराजुलीले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा हुने र यसले साहित्यको उत्थान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव लीलाधर पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

