झापा । तेह्रथुमका साहित्यकार हरिनारायण भट्टराई ‘चूडामणि झर्रो शैली सम्मान’ बाट सम्मानित हुनुभएको छ । झापाको चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयले आयोजना गरेको एक कार्यक्रममा भट्टराईलाई नगदसहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिले नै भट्टराई दम्पतीलाई सम्मान गर्दै पुरस्कार प्रदान गर्नुभएको थियो । २०७९ सालदेखि झर्रोवादी अभियन्ता चूडामणि रेग्मीका सुपुत्र प्रदीपमणि रेग्मीद्वारा स्थापित यस पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

सम्मान समारोहमा आख्यानकार पुण्यप्रसाद खरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने झर्रोवादी अभियन्ता एवम् अग्रज साहित्यकार चूडामणि रेग्मी, प्राज्ञ सुभद्रा भट्टराई, सहप्राध्यापक होम सुवेदी, प्रदीपमणि रेग्मी, लेखनाथ पुस्तकालयका पूर्व सभापति तथा स्रष्टा नवराज घिमिरे, चन्द्रमणि पौड्याल लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परशुराम तिम्सिना, राजु बराल, महेन्द्र कोइराला लगायत पचासभन्दा बढी स्रष्टाहरूको सहभागिता रहेको थियो । जयप्रसाद आचार्य, दिलीप घिमिरे, मीना अधिकारी, टीका भट्टराई लगायतका स्रष्टाहरूले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । यसै कार्यक्रममा लेखनाथ स्मारिका–२ तथा आलेख–७९ (चूडामणि रेग्मी अङ्क) को पनि लोकार्पण गरिएको थियो ।

लेखनाथ पुस्तकालयका सभापति खगिन्द्रा खुसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिकिशोर आचार्यले गर्नुभएको थियो । सम्मानित साहित्यकार भट्टराईको साहित्यिक योगदानलाई कार्यक्रमले उच्च सम्मान गरेको छ ।