
मोरङ । सुन्दरहरैँचा–१०, खोर्सानेस्थित सिद्धार्थ इङ्ग्लिश स्कुलको पुस्तकालयमा कवि सिजन श्रेष्ठको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘नझरेका फूलहरू’ को ११ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित यस कार्यक्रममा कवि श्रेष्ठले आफ्ना १७ वटा रचनाहरू सुनाउनुभएको थियो । उहाँले दुई ओटा गजल र पन्ध्र ओटा कविताहरूको सुमधुर प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, कवि मनु मञ्जिल, लेखक तथा अनुसन्धानकर्ता केशु विरही, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिद्धार्थ इङ्ग्लिश स्कुलका प्रिन्सिपल अर्जुन बस्नेत, सङ्गीतकर्मी जेबी थुलुङ, मुक्तककार नवराज पोखरेल ‘नवशिला’, पत्रकार तथा समीक्षक खेमचन्द्र अधिकारी लगायत साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
सङ्खुवासभाको वानामा २०४९ सालमा जन्मिनुभएको कवि श्रेष्ठको २०८१ सालमा ‘हावामा अल्झिएको स्वर’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित भएको छ । उहाँ ‘गाम बेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा पुरस्कार २०८१’ बाट समेत सम्मानित भइसक्नुभएको छ ।
स्थानीय मञ्जु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ‘नझरेका फूलहरू’ का प्रस्तोता केपी घिमिरेले गर्नुभएको थियो । कवि श्रेष्ठका भावपूर्ण रचनाहरूले श्रोताहरूलाई मोहित बनाएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

