
राज यात्री लम्साल, युएई
युएई । गत वर्ष २०८१ मा स्थापना भएको इस्माली समाज युएईले ‘इस्मालीको सान एकता, सद्भाव र सहकार्य हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा एक क्रुज सफारी कार्यक्रमको आयोजना गरी नयाँ वर्ष मनाएको छ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाका रोजगारको सिलसिलामा युएईमा कार्यरत इस्मालीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा रमाइलो र उत्साह थियो।
इस्माली समाज युएईका अध्यक्ष मानबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र गिरि, नेपाली समाज युएईका उपाध्यक्ष टंक थापा र गुल्मी सेवा समाज युएईका उपाध्यक्ष सरस्वती पौडेल विशिष्ट अतिथि रहनुभएको थियो । आधा दर्जनभन्दा बढी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति थियो।
नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा अध्यक्ष कुँवर, प्रमुख अतिथि गिरि र विशिष्ट अतिथि पौडेलले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । केक काटेर नयाँ वर्षको भव्य स्वागत गरिएको थियो। इस्मा गाउँपालिका युएई संयोजक हरि बिष्ट र समाजका कोषाध्यक्ष धनबहादुर जि.सी. ले स्वागत मन्तव्य दिँदै समाजले इस्मा गाउँपालिकाका बासिन्दाहरूलाई परदेशमा भइपरी आउने समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
अध्यक्ष कुँवरले इस्माली समाज युएईको मुख्य उद्देश्य इस्मा गाउँपालिकामा बिना विषादीका उत्पादनहरूको व्यावसायीकरण, बढ्दो बसाइँसराइ नियन्त्रण, आर्थिक अवस्था कमजोर भएका स्थानीय बासिन्दालाई स्वास्थ्य उपचारमा सहयोग गर्नु रहेको बताउनुभयो।
कार्यक्रममा इस्मा गाउँपालिकाको कोदो, मकै, धान बाली, ऐतिहासिक इस्मा कोट, विजयादशमीमा हुने पञ्चेबाजा सरायँ नाच, गायत्री आश्रम, स्थानीय पार्क, रातो माटो पाइने राङदल चौर लगायतका तस्वीरहरू प्रदर्शन गरिएको थियो।
गुल्मी, स्याङ्जा, पाल्पा, अर्घाखाँची, प्युठान, बागलुङ लगायतका जिल्लाबाट युएईमा कार्यरत झन्डै तीन सय पचासभन्दा बढी इस्मालीहरूको उपस्थितिले कार्यक्रमलाई रौनकता थपेको थियो। स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई अझ मनमोहक बनाएको थियो। स्थानीय समय दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको कार्यक्रमको सञ्चालन समाजका सचिव मनोज ज्ञवालीले गर्नुभएको थियो भने समापन समाजका सहसचिव सुनिल चन्द्र थापाले गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

