काठमाडौँ । २०८२ सालको साहित्य दिवस विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइएको छ । साहित्य संवर्धन केन्द्रको आयोजनामा भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी टुँडिखेल परिक्रमा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा र्याली पुगेको थियो ।

र्यालीमा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । र्याली पश्चात् प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण कक्षमा सातवटा कृतिको विमोचन गरिएको थियो । विमोचित कृतिहरूमा प्रा.डा. विद्यानाथ कोइरालाको ‘ऋग्वेद’, डा. धनपति कोइरालाको निबन्धसङ्ग्रह ‘अतृप्ति’, सुधा शर्माको ‘समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शन’, कुमार काफ्लेको बालकथासङ्ग्रह ‘सुन्दर सपना’, नवराज पराजुलीको कथासङ्ग्रह ‘लौ भन्नोस् त’, नारायणकैलाश सिग्देलको नियात्रा सङ्ग्रह ‘देश डुल्ने पाइला’ र आर्या घिमिरेको बाल कवितासङ्ग्रह ‘आफ्नै देश राम्रो’ रहेको छ ।

साहित्य दिवसको अवसरमा साहित्यमा योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पनि गरिएको थियो । हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आख्यानकार प्रा.डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरियो भने साहित्य संवर्धन द्रष्टा सम्मान प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई प्रदान गरिएको छ । यसबाहेक अन्य १५ वटा साहित्यिक पुरस्कार विभिन्न विधाका साहित्यकार तथा संघसंस्थालाई प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।