
पेरिस । नेपाल साहित्य समाज (अनेसास) को फ्रान्स च्याप्टर गठन भएको छ । आइतबार सम्पन्न अनेसास केन्द्रीय समितिको बैठकले प्रसान्त उप्रेती ‘भुइँमान्छे’को अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गर्दै फ्रान्स च्याप्टरको औपचारिक घोषणा गरेको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा बुर्लाकोटी, उपाध्यक्षमा आभाष आचार्य, महासचिवमा भिम प्रसाद रिमाल ‘निश्चल’, सचिवमा मधुकर देवकोटा र कोषाध्यक्षमा सुधाम्शु खनाल रहनुभएको छ । कार्यसमिति सदस्यहरूमा कविन्द्र कायस्थ, सन्ध्या शर्मा, सम्पूर्ण पाठक, केशव ढकाल, ओम गौचन र श्रवण कुमार कौस्तुव रहनुभएको छ । उक्त कार्यसमिति २०२५ देखि २०२७ सम्मका लागि चयन गरिएको छ ।
अनेसास केन्द्रीय कार्यसमितिका सर्वज्ञ वाग्ले, दिल्ली अम्माई लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष उप्रेतीले फ्रान्समा रहेको तेस्रो पुस्ताका नेपालीहरूलाई नेपाली भाषा र नेपाली संस्कृति, परम्परा तथा रीतिरिवाजसँग जोड्न र जगेर्ना गर्न च्याप्टर स्थापना गरिएको जानकारी दिनुभएको छ । उहाँ ले फ्रान्समा बसोबास गर्ने नेपालीहरूको साहित्यिक र सांस्कृतिक गतिविधिहरूलाई अझै उँचाइमा पुर्याउने लक्ष्य राखिएको बताउनुभयो । नवगठित कार्यसमितिले आगामी दिनमा फ्रान्समा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

