पोखरा । साहित्यकार कुमारी लामाको नवीनतम निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि पोखरामा परिचर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरूले कृतिको बहुआयामिक पक्षहरूमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार कुमार तामाङले ‘दर्ज्यु संलाप’ लाई तामाङ समुदायमाथि राज्यद्वारा गरिएको विभेदको सशक्त प्रतिवादको रूपमा व्याख्या गर्नुभएको थियो । ‘प्रस्थान’ उपन्यासका लेखक तामाङले यस कृतिलाई आख्यानात्मक निबन्धहरूको सङ्कलन भएको बताउँदै निबन्धकार लामालाई सामाजिक कुरीति, कुसंस्कार, विभेद र अन्यायप्रति सिर्जनशील विद्रोह गर्ने साहित्यकारको रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, “सभ्यता, धर्म, संस्कारको झेली खोलभित्र लुकाइएको असभ्य, अधार्मिक अनि कुसंस्कारी अभ्यासमाथि रचनात्मक विद्रोह पोखिएको छ कृतिभित्र ।” उहाँले यस कृतिलाई नेपाली समाजको जीवन्त प्रतिविम्बको रूपमा व्याख्या गर्दै पठनीय कृति भएको धारणा राख्नुभयो ।
निबन्धकार कुमारी लामाले आफ्ना निबन्धहरूमा खास गरी तामाङ समुदायका विश्वासहरूलाई समेटिएको बताउनुभयो । समावेशी समाजको आवाजलाई मुखरित गर्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले आदिवासी सौन्दर्य चेतनाका साथै पृथ्वीमा भएका सम्पूर्ण अस्तित्वलाई सम्बोधन गर्ने प्रयास निबन्धमार्फत गरेको बताउनुभयो । उहाँले रैथाने संस्कार र पर्यावरणमैत्री विकासको आवश्यकतामा जोड दिँदै विकासको नाममा भएको मानव सभ्यतामाथिको अत्याचारप्रति लेखकहरूले ध्यान दिनुपर्ने धारणा राख्नुभयो। साथै, उहाँले मातृभाषा प्रयोग गर्दा सामाजिक सञ्जालमा हुने ट्रोलिङको पीडादायी अनुभव पनि सुनाउनुभयो ।
‘उज्यालो अन्धकार’ पछि प्रकाशित लामाको दोस्रो निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ मा समाज संवार्ता, सैलानी समय र दृश्य अदृश्य गरी ३ खण्डमा १७ ओटा निबन्ध समेटिएका छन् ।
र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरी तमू, सुरज पौडेल, दीपक पराजुली, प्रवीण बडगामीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार यसरी नै कुनै कृति वा विषयमाथि बहस गर्दै आएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










