घोराही । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलद्वारा रचित कविता संग्रह ‘बाको अनुहार’ शनिबार दाङको घोराहीमा विमोचित भएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक समारोहका बीच उक्त संग्रहको विमोचन गर्नुभएको हो ।

महामन्त्री शर्माले पोख्रेलका कविताले देश, समाज र समयको गहन चित्रण गरेको बताउँदै साहित्य समाजको ऐना भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पोखरेलका कविता समाजको ऐना हुन्। यहाँ समाज, परिवेश र आम मान्छेका समान अनुभूतिहरू पाइन्छन्। कविता पढ्ने जो कोहीलाई लाग्छ, यी मेरा पनि अनुभूति हुन्।” शर्माले कला साहित्यले मुलुकलाई सही बाटोमा लैजान सक्ने र समाजका नकारात्मक पक्षहरूलाई सच्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो।

साहित्यकार डा. कृष्णराज डिसी र डा. टिकाराम उदासीले संग्रहमाथि टिप्पणी गर्दै पोख्रेलको साहित्यिक यात्रालाई निरन्तरता दिन सुझाव दिनुभयो। डा. डिसीले पोख्रेलका कविता आफ्ना बाबुका मात्र नभई हरेक पिताको कथाव्यथा बोकेको बताउँदै यसले पाठकको भावनामा गहिरो प्रभाव पार्ने धारणा राख्नुभयो। राप्ती साहित्य परिषद्का अध्यक्ष उदासीले पोख्रेलका कविताले समाज र देशको यथार्थ प्रस्तुत गरेको भन्दै संग्रहलाई समय सापेक्ष महत्वपूर्ण कृति भएको बताउनुभयो।

पोख्रेलले आफ्नो कविता संग्रहमा बाबुप्रतिको भावनाका साथै छोराप्रतिको आमाको प्रेम र चिन्तनलाई समेट्नुभएको छ। शनिबार कविता संग्रह सार्वजनिक गरेर आफ्नो साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका पोख्रेल गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ। महासंघको अध्यक्ष पदबाट अवकाश पश्चात् उहाँले दुई गीत सार्वजनिक गरिसक्नुभएको छ। पत्रकारितासँगै साहित्यिक लेखनमा सक्रिय पोख्रेलले कला साहित्य आफ्नो रुचिको विषय भएको बताउँदै महासंघको नेतृत्वमा रहँदा केही समय टाढा भए पनि पुनः साहित्य लेखनमा फर्किएको बताउनुभयो।

‘बाको अनुहार’ कविता संग्रहमा ३० वटा कविता समावेश छन्। आदिम केसीले सम्पादन गरेको यो संग्रह गोरक्ष दैनिकले प्रकाशित गरेको हो।