ललितपुर । मोरङका युवा कवि सिजन श्रेष्ठ ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ । एनसिएम डेको अवसरमा, गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा सोमबार ललितपुरमा आयोजित समारोहमा श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिएको हो ।

श्रेष्ठको कृति ‘हावामा अल्झिएको स्वर’ लाई पुरस्कारका लागि छनोट गरिएको थियो। अन्य उत्कृष्ट चार कृतिहरूमा युवाकवि पल्लविवको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ समावेश थियो ।

पुरस्कार ग्रहण गर्दै श्रेष्ठले यस सम्मानले आफ्नो कविता साधनाको मूल्याङ्कन भएको र साहित्य लेखनमा थप जिम्मेवारीबोध गराएको बताउनुभयो । क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापित यो पुरस्कार हरेक वर्ष नवीनतम काव्यकृति प्रकाशित गर्ने युवा स्रष्टालाई प्रदान गरिन्छ। पुरस्कार संयोजक अमनप्रताप अधिकारीका अनुसार देशभर र विदेशबाट १० वटा उत्कृष्ट कविता संग्रह प्राप्त भएको थियो ।

पुरस्कारका लागि नेपाली भाषामा लेखिएका, आईएसबिएन नम्बर प्राप्त वा स्वप्रकाशित गद्य तथा पद्य दुबै शैलीका कविता संग्रहहरू योग्य थियो । कविको उमेर ३५ वर्षभन्दा कम र प्रकाशन मिति २०८० फागुन १ देखि २०८१ फागुन १ सम्म हुनुपर्ने शर्त थियो।

त्यसैगरी गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालद्वारा आयोजित ‘NCM DAY – २०८१’ को विशेष अवसरमा विभिन्न साहित्यिक, सांस्कृतिक र सिर्जनात्मक विधामा उल्लेखनीय योगदान दिएका प्रतिभाहरूलाई सम्मानित गरिएको थियो ।

NCM Poetry Award 2081 अन्तर्गत, देशभरका विद्यार्थीहरूमाझ आह्वान गरिएको खुला कविता प्रतियोगितामा  गुन्जन राई  प्रथम  हुनुभएको  छ ।

 ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार – २०८१’ बाट यसपटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेणुका नगरकोटीलाई सम्मान गरिएको छ। नेपाली साहित्यमा नवीन शैली र विचार प्रस्तुत गर्ने लेखक तथा गीतकार विप्लव प्रतीकलाई उहाँको पछिल्लो कृति ‘शाडेनफ्रोएडा’ का लागि विशेष सम्मान प्रदान गरिएको छ। NCM Cover Artist Award 2081 अन्तर्गत, बेगेन्द्र बुढा विजेता घोषित हुनुभएको छ ।

NCM Dance Award विधामा भने, प्रश्ना एण्ड टीम द्वारा प्रस्तुत नृत्य प्रदर्शनलाई उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गरिएको हो। उक्त विधामा सुदिक्षा मानन्धर (सोलो), आध्य एण्ड मिमांशा (ग्रुप), आवाशा एण्ड ग्रुप, टिमला महर्जन (सोलो) लगायत प्रश्ना एण्ड टीम को प्रस्तुति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि डा. विजय केसी (डिन, KUSOM) रहनुभएको थियो । त्यसैगरी, नेपाल कलेज अफ म्यानेजमेन्टका एसोसिएट प्रिन्सिपल डा. प्रेम प्रसाद सिलवालले कार्यक्रममा स्वागत मन्तव्य दिनुभएको थियो ।