मोरङ । प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) कोशी प्रदेश समितिको तेस्रो प्रदेश सम्मेलन शनिबार मोरङको सुकुनामा सम्पन्न भएको छ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै समापन गरेको हो । झापाकी विन्दु दाहाल मुकदर्शकको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन भएको छ। जसमा दिनेश थापा र शान्ति पाख्रिन उपाध्यक्ष, रविन कोर्काली सचिव, कमल भट्टराई सहसचिव र डिल्लीराम परदेशी कोषाध्यक्ष रहनुभएको छ।

सुकुना बहुमुखी क्याम्पसमा आयोजित सम्मेलनमा प्रलेस नेपालका उपाध्यक्ष नमुना शर्माले प्रमुख अतिथि तथा तिला लेकालीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा प्रलेसका महासचिव डा. देवी दुलाल क्षेत्री र क्यान्सर पीडित साहित्यकार ज्ञानु बुढाथोकीलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

प्रमुख अतिथि शर्माले प्रलेस अहिले थप चुनौतीको सामना गरिरहेको र गणतन्त्रविरोधी प्रचार तथा समाज विखण्डन गर्ने गतिविधि विरुद्ध प्रलेस मात्र नभई सम्पूर्ण समाज र गणतन्त्रका पक्षधरहरू एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले कलम चलाएर भ्रमहरू चिर्नुपर्नेमा जोड दिनुभयो । प्रलेस वामपन्थी लेखकहरूको साझा थलो भएकोले एकतापूर्वक प्रतिक्रियावादीहरू विरुद्ध लाग्नुपर्ने उहाँको भनाइ थियो।

विशिष्ट अतिथि तथा सम्मानित स्रष्टा डा. देवी क्षेत्री दुलालले प्रलेसमा लेखनलाई प्राथमिकता दिइने र दलीय भागबण्डा नगरिने बताउनुभयो । उहाँले प्रलेस लेखकहरूको संस्था भएकोले लेखकहरू नै नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो । दलीय भागबण्डाका आधारमा नेतृत्व चयन गर्दा गैरलेखकहरूले नेतृत्व लिने प्रयास हुने भएकाले लेखकहरूलाई नै नेतृत्वमा ल्याउनुपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रलेस केन्द्रीय सदस्यहरू राजेन्द्र सङ्ग्रौला, बोधकुमार घिमिरे, प्रा.डा. खेमराज खनाल, ईरान राई, केशु कार्की, जनसांस्कृतिक महासङ्घ कोशी प्रदेश अध्यक्ष जि. बि. थुलुङ, भरत गुरागाईं बर्बरिक, प्रलेस पूर्व के.स. हेमनाथ अधिकारी, पूर्व प्रतिनिधिसभा सदस्य तथा स्रष्टा हर्कमान तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले पूँजीवादी संस्कृतिविरुद्ध प्रलेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पूर्व प्रतिनिधिसभा सदस्य तथा स्रष्टा राजकुमार ओझाले प्रलेसले समाजका विकृति विसङ्गति हटाएर स्वच्छ र संस्कारयुक्त संस्कृतिको विकासमा योगदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मोरङका दिप मङ्ग्राती, प्रदेशसभा सदस्य विद्या चाम्लिङ, रोजन यात्री, मुक्ति पोखरेल लगायतले रचना वाचन गर्नुभएको थियो भने साजन भट्टराईले गजल र शेखर थापाले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र सर्वहाराले गर्नुभएको थियो ।