
घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिबार घोराहीमा आयोजित बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रमले साहित्यिक विविधताको झलक प्रस्तुत गरेको छ। सात भाषाहरु – नेपाली, संस्कृत, अवधि, कुसुण्डा, नेवारी, मगर र थारू – का १४ वटा काव्य रचनाहरू एकै मञ्चमा प्रस्तुत गरिएको यस उत्सवले भाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपाली भाषाका लागि नारायण नेपाल र शारदा शर्मा, संस्कृतका लागि उत्तम खतिवडा र जनक पोखरेल, नेवारीका लागि नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठ, अवधिको लागि जगतराम यादव र बसन्तप्रकाश यादव, थारूका लागि छविलाल कोपिला र राजकुमार कान्छा, मगर खामका लागि क्षितिज मगर र कमलप्रसाद गौतम तथा कुसुण्डा भाषाका लागि उदय आले र निर्मला कुसुण्डाले आ-आफ्ना मौलिक रचनाहरू वाचन गर्नुभएको थियो ।
यस उत्सवमा साहित्य तथा गीत संगीत क्षेत्रमा योगदान पुर्याउने ६ जना साहित्यकारलाई सम्मानित गरिएको थियो। ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’ कवि एवम् समालोचक डा. कृष्णराज डिसीलाई, ‘वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’ गायक प्रकाश रेग्मीलाई, र ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’ कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा. कृष्णराज सर्वहारीलाई प्रदान गरिएको थियो । साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवम् साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कार प्रदान गर्दै यस प्रकारको बहुभाषिक कार्यक्रमले साहित्यमा रहेको विविधतालाई एकीकृत गर्ने र भाषा संरक्षणमा टेवा पुर्याउने बताउनुभएको थियो । उहाँले परिषद्को यो प्रयास अनुकरणीय भएको उल्लेख गर्नुभयो ।
अन्य वक्ताहरूले पनि यस कार्यक्रमले ओझेलमा परेका भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियो । साहित्यकार उत्तमकृष्ण मजगैँया लगायत अन्य वक्ताहरूले नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा पुरस्कृत कलाकार प्रकाश रेग्मीले गीत गाएर कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा परिषद्को वार्षिक साधारणसभा पनि सम्पन्न भएको थियो। उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

