काठमाडौँ । दिवंगत मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित ‘डा. सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार २०८१’ वैज्ञानिक महावीर पुनलाई प्रदान गरिने भएको छ। पुरस्कार कोष व्यवस्थापन समितिको काठमाडौँमा बसेको बैठकले पुनलाई एक लाख एघार हजार एक सय एघार रूपियाँ नगद राशिसहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कार कोषले जारी गरेको विज्ञप्तिअनुसार, विभिन्न क्षेत्रमा नेपाली समाजको रूपान्तरणमा विशिष्ट योगदान पुर्‍याउने प्राविधिक प्रकृतिका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएको छ। वैज्ञानिक आविष्कारको क्षेत्रमा जनताको पहुँच विस्तार गर्न निरन्तर क्रियाशील पुनको योगदानलाई पुरस्कारले सम्मान गरेको विज्ञप्तिमा उल्लेख छ। रोमन म्यागासेसे पुरस्कार विजेता समेत रहनुभएको पुनको उल्लेखनीय योगदानलाई ध्यानमा राखी यो निर्णय गरिएको हो।

यसअघि यो पुरस्कार  मुटुरोग विशेषज्ञ डा. भवगान कोइरालालाई प्रदान गरिएको थियो। दिवंगत डा. अर्यालकी आमा तथा साहित्यकार सरस्वती अर्यालद्वारा स्थापित यस पुरस्कारको अर्पण समारोहको मिति र स्थान भने वैज्ञानिक पुनको व्यस्ततालाई ध्यानमा राखी पछि तोकिने जनाइएको छ।