ललितपुर ।  मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तक संग्रह ‘मायामा माया’ लोकार्पित भएको छ। ललितपुरको जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहमा यस कृतिको लोकार्पण गरिएको हो।

कार्यक्रममा गीतकार तथा चलचित्रकर्मी यादव खरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, रामकाजी कोने लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। उहाँहरूले संयुक्त रूपमा उक्त मुक्तक संग्रहको लोकार्पण गर्नुभएको थियो।

नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि खरेलले अक्षरको कर्ममा समर्पित एक मुक्तककारको कृति सार्वजनिक गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले छ आयाममा विभाजित मुक्तकहरूले पाठकको मन छुने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय मुक्तक साहित्यमा देखिएको प्रगतिप्रति खुसी व्यक्त गर्दै उहाँले यस अभियानमा संलग्न सबैलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, पूर्व अध्यक्ष एवम् कवि विधान आचार्य, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, मुक्तककारका पिता मुक्तिनाथ खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

मुक्तककार अधिकारीले आफ्नो साहित्यिक यात्राको सुरुवात स्कूल पढ्दा गुरुले वाचन गरेको कविताबाट भएको बताउँदै सुनेका, देखेका र भोगेका अनुभवहरूले आफूलाई लेखनमा प्रेरित गरेको बताउनुभयो। उहाँले कवि विधान आचार्यको प्रोत्साहनले गर्दा आफूले यो कृति प्रकाशित गर्न सफल भएको बताउनुभयो।

समालोचक डा. शान्तिमाया गिरीले मुक्तकहरू उमेर, समय र अनुभवको त्रिवेणी भएको बताउँदै चार सय पचास मुक्तक समावेश यस कृतिमा अधिकांश मुक्तक श्रृंगारिक रहेको र मायाको विषयलाई केन्द्रमा राखिएको जानकारी दिनुभयो । उहाँले गहिरो प्रेम, विश्वास र सुख–सम्पन्नतालाई मुक्तकहरूमा प्राथमिकता दिइएको उल्लेख गर्दै नारीप्रतिको पुरुषको प्रेमिल प्रशंसा समेत मुक्तकमा समेटिएको बताउनुभयो। उहाँले यो कृति पठनीय रहेको टिप्पणी गर्नुभयो।

कार्यक्रमका अध्यक्ष एवम् नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले एउटै विषयमा चार सय पचास मुक्तक लेखेर प्रकाशन गर्ने साहसका लागि मुक्तककारलाई धन्यवाद दिनुभयो । उहाँले नेपाल मुक्तक प्रतिष्ठानले पोखरामा आयोजना गरेको मुक्तक कार्यशाला गोष्ठीको स्मरण गर्दै सो कार्यक्रममा आफ्नो पनि उपस्थिति रहेको बताउनुभयो। उहाँले नेपाल मुक्तक प्रतिष्ठानको मुक्तक अभियानको योगदानको प्रशंसा गर्नुभयो।

नेपाल स्रष्टा समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन समाजका कार्यसमिति सदस्य माधव बिंडारी चेतनपथले गर्नुभएको थियो।