काठमाडौँ – नेपाली चलचित्र क्षेत्रका दुई चर्चित कलाकार हरिवंश आचार्य र विजय बरालबीच तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा रोचक संवाद भएको छ। पाँच दशकभन्दा बढी अभिनय यात्रा पूरा गरिसक्नुभएको हरिवंश र उदीयमान कलाकार विजयबीचको यो संवादले अनुभव र चुनौती दुवैको झलक प्रस्तुत गरेको थियो ।

६७ वर्षीय हरिवंशले आफ्नो लामो करियरबारे चर्चा गर्दै ३७ वर्षीय विजयलाई सम्बोधन गर्दै भन्नुभयो, ‘मेरो उमेर ६७ भयो, तर काम गर्ने बेला तपाईंको उमेर ३७ वर्षको भएर सोच्छु।’ उहाँले आफूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न नियमित व्यायाम र ध्यानको अभ्यास गर्ने गरेको बताउनुभयो । ‘मानसिक रुपमा स्वस्थ रहन म नकारात्मक कुराहरुलाई टेबल टेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु,” उहाँले भन्नुभयो । उहाँले विभिन्न भूमिका निर्वाह गर्न आवश्यकता अनुसार डेन्टिङ पेन्टिङ समेत गर्ने गरेको सुनाउनुभयो ।

मण्डला थिएटरको आँगनमा भएको यस संवादमा हरिवंशले आफ्नो सुरुवाती दिन र राष्ट्रिय नाचघरमा नाटक गर्दाको अनुभव स्मरण गर्नुभयो । उहाँले आफ्ना गुरु जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झदै डायलग बोल्ने कलामा गुरु रिमालबाट प्राप्त ज्ञानको महत्त्व उल्लेख गर्नुभयो । त्यसबेलाको थिएटरको अवस्था वर्तमानसँग तुलना गर्दै उहाँले रेडिमेड हलहरुमा प्रस्तुति दिने दिनहरुको स्मरण गर्नुभयो । हास्य व्यंग्य, प्रहसन र नाटकमा धेरै फरक नरहेको बताउँदै उहाँले आफू सधैँ नाटकको नजिक रहेकोमा जोड दिनुभयो । आजको सिनेमा क्षेत्रको नेतृत्व थिएटरका कलाकारले नै गरेको उहाँको तर्क थियो।

‘पूर्णबहादुरको सारंगी’ पछि चर्चामा रहेको विजयले हरिवंशलाई सफल कलाकारले सफलताको शिखरमा टिकिरहन कत्तिको सहज हुन्छ भन्ने प्रश्न गर्नुभयो । यसको जवाफमा हरिवंशले भन्नुभयो, ‘उमेर र अनुभव यति धेरै भइसक्यो, तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ। दुई तीन पल्ट ट्वाइलेट पनि जान्छु। मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ। त्यो डर नै अनुशासन हो। हरेक पटक लेख्दा यसअघिको भन्दा राम्रो लेख्न सक्छु कि सक्दिनँ भनेर सचेत हुन्छु।’

आफ्नो आगामी फिल्म ‘भूठान’ मा काम गर्दाको अनुभव सुनाउँदै हरिवंशले स्क्रिप्ट पटक पटक पढेपछि मात्र फिल्ममा काम गर्ने निर्णय गरेको बताउनुभयो । यस संवादले दुई पुस्ताका कलाकारका अनुभव र चुनौतीलाई उजागर गर्दै नेपाली कला क्षेत्रको विकासक्रमको एउटा झलक प्रस्तुत गरेको छ।