ईटहरी । साहित्यकार मणि निरौलाको नवीनतम उपन्यास ‘गुप्त प्रेम’ को विमोचन तथा परिचर्चा कार्यक्रम ईटहरीमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्वका चर्चित साहित्यकार, समाजसेवी, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा साहित्यकार नीरज कोइराला, साहित्यकार तथा कवि टीका आत्रेय र साहित्यकार रामप्रसाद खरेल रहनुभएको थियो।

आत्रेयले ‘गुप्त प्रेम’ टिन एज र बाल्यकालको कथामा आधारित रहेको र यसले युवा पुस्तालाई विशेष रूपमा छुने बताउनुभयो । उहाँले उपन्यासको कथ्य र शैलीको प्रशंसा गर्दै यसले युवा मनोविज्ञानलाई प्रभावकारी रूपमा उजागर गरेको धारणा राख्नुभयो ।

रामप्रसाद खरेलले उपन्यासको सस्पेन्स थ्रिलर शैलीको प्रशंसा गर्दै लेखक निरौलाले अघिल्ला कृतिभन्दा फरक धारको पुस्तक ल्याएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले उपन्यासको कथावस्तु र पात्र चित्रणलाई प्रशंसनीय भएको बताउनुभयो ।

नीरज कोइरालाले उपन्यासको विश्लेषण गर्दै यसले समाजमा लुकेका यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको उल्लेख गर्नुभयो । उहाँले उपन्यासको भाषाशैली र कथा प्रस्तुतिलाई मौलिक र आकर्षक भएको बताउनुभयो।

कार्यक्रममा कलाकार कृष्णप्रसाद नेपालको कलात्मक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । पत्रकार तथा साहित्यकार कृष्ण विनोद लम्सालले नेपाली साहित्यमा युवा पुस्ताको बढ्दो चासो र सहभागिता सकारात्मक भएको बताउनुभयो ।

आधा दशकदेखि साहित्य साधनामा क्रियाशील निरौलाले आफ्नो पहिलो कृति ‘पहिलो पाइला’को पाठकबाट प्राप्त माया र ‘गुप्त प्रेम’ प्रतिको आफ्नो धारणा राख्नुभयो । उहाँले आफ्नो दोस्रो साहित्यिक कृति ‘गुप्त प्रेम’ मार्फत कोशी प्रदेशमा बस्ने प्रेम जोडीको प्रेम सम्बन्ध र त्यहाँको परिवेशलाई मुख्य विषयवस्तु बनाएको बताउनुभयो ।