
काठमाडौँ । राष्ट्रिय ललितकला संघ नेपालको केन्द्रीय अध्यक्षमा कलाकार एनवी गुरुङ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। चैत्र ९ गते सम्पन्न संघको राष्ट्रिय सम्मेलनले उहाँलाई अध्यक्षमा चयन गरेको हो। सम्मेलनले ४१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरूमा महेन्द्र राई, उमेश श्रेष्ठ, चित्र कार्की, ज्योतिप्रकाश विक र विपना महर्जन रहनुभएको छ। महासचिवमा अर्जुन न्यौपाने, उपमहासचिवमा कान्छाकाजी भासीमा, सचिवहरूमा सन्तोष जेन्तली र शुशान्त श्रेष्ठ चयन हुनुभएको छ। भीम श्रेष्ठ, विनोद गुप्ता, एचबी रम्तेल लगायत अन्य सदस्यहरू पनि कार्यसमितिमा रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले कलाको विकास, प्रवर्द्धन र संरक्षणका लागि नीतिगत तहमा कानुन निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ। यसका साथै कलाकारका हकहित र अधिकारको लागि निरन्तर पैरवी गरिने समेत कार्यसमितिले बताएको छ। नयाँ नेतृत्वले कला क्षेत्रको समग्र विकास र कलाकारहरूको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

