भरतपुर । नेपाली गजलको प्रवर्द्धनमा सक्रिय गजल मञ्च चितवनले आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘गजलसँग’ को दशौँ शृङ्खला आगामी चैत्र ९ गते शनिबार भरतपुरमा हुँदैछ । भरतपुर–८ शरदपुरस्थित होटल काव्या इनमा दिउँसो १ बजेदेखि सुरु हुने यस कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट स्थापित र उदाउँदा गजलकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

लामो समयदेखि गजल साधनामा समर्पित गजल मञ्च चितवनले यसपटक गुल्मीका प्रतिभाशाली गजलकार प्राञ्जल, हेटौँडाका सागर तिमिल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकै सरला जोशीलाई आमन्त्रण गरेको छ । यी चार जना गजलकारले आ-आफ्ना मौलिक र मार्मिक गजलहरू प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास आयोजकको छ । कार्यक्रमले नेपाली गजल साधना र श्रवण संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले साहित्यप्रेमी, गजलप्रेमी तथा गजलकारहरूलाई कार्यक्रममा उपस्थित भई गजलको मधुर धुन र भावनात्मक सौन्दर्यमा रमाउन हार्दिक अनुरोध गर्नुभएको छ । अध्यक्ष अनायासका अनुसार यस कार्यक्रमले नेपाली गजलको क्षेत्रमा थप योगदान पुर्‍याउनेछ र गजलप्रेमीहरूका लागि एउटा अविस्मरणीय साँझको अनुभव प्रदान गर्नेछ । उहाँले यस कार्यक्रमलाई गजल क्षेत्रको उत्थानका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।