काठमाडौं । कथाकार शुभचन्द्र राईको दोस्रो कथासंग्रह “समयले जन्माएका कथाहरू” सार्वजनिक भएको छ। ओखलढुंगाको मानेभन्ज्याङ–३ मा रहेको मुन्दुम सांस्कृतिक प्रतीक स्वालेवा स्तम्भ पार्कको उद्घाटन समारोहमा कृतिको लोकार्पण गरिएको हो।

कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय सांसद रामहरि खतिवडा, संविधानसभाका सभासद् यज्ञराज सुनुवार, राष्ट्रगानका रचनाकार व्याकुल माइला र वाम्रास संस्थाका अध्यक्ष गजुरधन राईले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको थियो ।

ओखलढुंगाको वामद्यालमा २०२४ सालमा जन्मिनुभएको राई वाम्बुले राई भाषाका लेखक पनि हुनुहुन्छ। उहाँको पहिलो कृति “ल्आकाचिम सारिङ्मो” (रातो भाले) २०६८ सालमा प्रकाशित भएको थियो। धरानमा हुर्केर शिक्षा हासिल गर्नुभएको राई २०४० सालदेखि शिक्षण, सामाजिक सेवा र साहित्य सिर्जनामा सक्रिय रहनुभएको छ । हाल उहाँ बेलायतमा बसोबास गर्दै आउनुभएको छ।

“समयले जन्माएका कथाहरू” मा ८६ वटा छोटा कथाहरू समावेश छन्। यी कथाहरूले पूर्वी नेपालको ग्रामीण परिवेश, गरिबी, लाहुरे जीवन र धरानको युवा जीवनमा देखिएका विकृतिहरूलाई चित्रण गर्दछन्। पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, जनयुद्ध र गणतन्त्रकालका घटनाहरूलाई पनि कथाहरूमा समेटिएको पाइन्छ। “फिस्टे कान्छाको दसैं बोनस,” “गाउँमा साकेला,” “बहिनीलाई चिठ्ठी,” “खोयाबिर्केको अपार लीला,” “पहाडे डाक्टर,” “राजनीति,” “नागरिकता,” “डलरको खेती,” “झाँक्री कान्छा,” “रातो भाले,” लगायतका शीर्षकहरूले कथाहरूको विविधता झल्काउँछन्।

भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस कृतिको भूमिका राष्ट्रगानका रचनाकार व्याकुल माइला र लेखक अविनाथ राईले लेख्नुभएको छ भने भाषा सम्पादन पत्रकार गणेश राईले गर्नुभएको छ । लेखक राईले आफ्नो कृतिबारे भन्नुभएको छ, “समयले जन्माएका कथाहरू तत्कालीन समयको जिवन्त बिम्ब हुन्। धेरैजसो सत्य घटनाहरूलाई केही शृङ्गार गरेर कथाको रूपमा प्रस्तुत गरेको छु।”