काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमबाट पारिजात, बी.पी. कोइरालालगायतको पाठ हटाइएकोमा प्रगतिशील लेखक सङ्घले विरोध गरेको छ ।

अध्यक्ष प्रा.डा मधुसूदन गिरीको हस्ताक्षरमा  प्रेसविज्ञप्ति जारी गर्दै प्रलेसले विरोध गरेको हो ।

त्रिवि मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली विषयको २०८१ सालको पाठ्यक्रममा पारिजात, बी.पी. को पाठ्यक्रमलाई हटाएकोबारेमा प्रलेसले विरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– “प्रगतिवादको प्राज्ञिक, सैद्धान्तिक अध्ययनका साथै नेपाली साहित्यको प्रगतिवादी धारा एवम् पारिजात जस्ता स्रष्टा र तिनका आवाजलाई निषेध गर्नु, कुण्ठित गर्नु र तिनका स्थानमा नवमार्क्सवाद, उत्तरमार्क्सवाद आदि उत्तरआधुनिक चिन्तन, दर्शन जबर्जस्ती लाद्नु नेपाली जनता र तिनका जनचाहनाको अपमान हो । नेपालीको स्वतन्त्र ढङ्गले चाहेको विषय पढ्न पाउने अधिकारमाथिको दमन हो, कुठाराघात हो ।”

त्रिविको यस कार्यको विरोध गर्दै वक्तव्यमा अगाडि भनिएको छ– “त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, विषय समिति, विद्यापरिषद्, त्रिवि प्रशासनलगायत सम्बद्ध सम्पूर्ण निकायलाई अविलम्ब उक्त पाठ्यक्रमलाई सच्याई नेपाल राज्यले लिएको समाजवादोन्मुख लक्ष्यअनुरूप बनाउन प्रलेस नेपाल आग्रह गर्दछ ।”