पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ६ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. निलो माइक्रोजस्तो नदी – विष्णु थापा ‘बिछोड’

आफ्नै मनभित्रको शून्यताले
खोक्रो बनाउँदै छ मलाई
लाग्छ,
जीवनमा अन्धाकारबाहेक केही छैन
न भागेर जान सक्छु कतै
न बदल्न सक्छु परिवेश
न बनाउन सक्छु जादुमय जिन्दगी । (मनको आकाश, पृ. ३४)
युवा कवि विष्णु थापा ‘बिछोड’को पहिलो कवितासंग्रह हो ‘निलो माइक्रोजस्तो नदी’ । कवि विष्णुको कवितामा जीवन र प्रेमको इन्द्रेणी सौन्दर्य भेटिन्छ, सङ्घर्ष र बलिदानका बहुरंग देखिन्छ ।
”जीवन एक नदीजस्तै अनन्तः यात्रा हो । कहिले गहिराइमा डुबाउँछ, कहिले सतहमा उर्ताछ ।”, कवि थापा पुस्तकमा लेख्नुहुन्छ, ”हरेक मोडहरूमा यसले उतारचढाव ल्याउँछ । मेरो जीवन यस्तै यात्राहरूबाट गुज्रिएको छ । मेरो जीवन पनि नीलो माइक्रोजस्तै नदी हो । म आफूलाई केवल पाठक भन्न रुचाउँछु । मलाई प्रकृति मन पर्छ । मेरो गाउँ ठुलाढिक पनि कविता जस्तै छ । मैले नलेखे पनि मेरो गाउँले मेरा लागि कविताहरू लेखिरहन्छ । मलाई कविताको लत लागेको मैले पढेको स्कूल राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणीदेखि नै हो । यो क्रम वि. स. २०५१ सालमा रत्नराज्य क्याम्पसमा पढ्दासम्म पनि निरन्तर रह्यो । आजपर्यन्त म कविताकै प्रेममा छु ।”
त्यसैगरी, पुस्तकमा सुमन थापा ‘संगम’ लेख्नुहुन्छ, ”सुन्दर प्रकृतिसँगको सामीप्यतालाई अँगालेर जीवनका मोडमा भेटिने पलहरूलाई थपक्क आफ्नै खोकिलामा राखी सुन्दर कविता सिर्जना गरेर नदीझैँ सलल बग्न र उसैगरी गगन चुम्न सक्षम छन् विष्णु । उनी शब्दहरूलाई शब्द नै पैँचो दिएर निस्फिक्री पवनसँग उडिहिँड्ने स्वच्छन्द पक्षी रहेछन् । कवि कविताको मर्मसँग नजिक छन् । कविता कति र कुन तहसम्म गहिरिन्छ , ब्रह्माण्डको कुन सतहलाई छुन्छ, हृदयको कुन कुनामा बास बस्छ त्यो चेत कवि विष्णुमा भेटिन्छ । पाठकलाई कवितासँगै सचेत बनाउन सक्छन् यी कविताले । देशप्रति इमानदारिता र शृङ्खलाबद्ध अक्षरयात्राले विष्णुको कवितायात्रा ऊर्जामय र मिलनमय बनेको छ ।”
पुस्तकलाई हामी र हाम्रो कृति समाजले प्रकाशन गरेको हो । ४८ ओटा कविता रहेको संग्रहको मूल्य ३ सय रुपैयाँ रहेको छ ।
…
२. शब्दसुमन – मुरारीराज मिश्र

मुरारीराज मिश्रले आमा बाबाको स्मृतिमा लेख्नुभएको भक्तिरचना संग्रह हो ‘शब्दसुमन’ । मिश्रले संस्कृतमा भएका श्लोकहरूलाई सरल नेपाली भाषामा भावानुवाद गरी सनातनी भक्तहरूलाई सजिलो बनाइदिनुभएको छ ।
कति गर्छौं तेरो मेरो ? छैन केही स्थायी
नाङ्गै आयौँ, जानुपर्छ , खाली हातै भाइ ।।
दुःख गरी कमाएको, धन सम्पत्ति मान ।
मर्ने बेला पाइँदैन आफ्नो साथमा लान ।।
साँच्छौ किन यस्तो धन, आफू खाइ नखाई ?
नाङ्गै आयौँ, जानुपर्छ, खाली हातै भाइ ।। (कति गर्छौ तेरो मेरो, पृ. १३)
”हरेक बिहान आमाले पाठ गर्नुभएको भागवत कुञ्ज, कोमलगीता, रामायण आदि पुस्तकहरूका श्लोकहरू बाल्यकालदेखि नै सुन्दै हुर्केकाले, अर्थ नबुझे पनि केही श्लोकहरू मुखाग्रै भएका थिए ।”, कवि मिश्र आफ्नो कुरामा लेख्नुहुन्छ, ”थोरै बुझ्ने भएपछि बिस्तारै त्यस्ता धार्मिक भजन र पुस्तकप्रति रुचि बढ्दै गयो । अहिलेको जस्तो मनोरञ्जनका अन्य साधनहरू नभएको त्यसताका, रेडियो नेपालको धार्मिक कार्यक्रममा दिनहुँ बिहान बज्ने भजनहरु हामी प्रायः सुन्ने गर्थ्यौँ । घर नजिकैको पशुपतिनाथ र वासुकिनाथ मन्दिरभित्र हुने बिहानी भजन तथा सन्ध्या आरतीमा पनि नियमितरूपमा सहभागिता जनाइन्थ्यो । त्यसैको प्रभावले होला भजन लेख्ने चाहाना, थाहै नपाइ कुनबेला उत्पन्न भएर मनको भित्री कुनामा लुकेर बसिसकेको रहेछ । मनभित्रको सुषुप्त चाहानाले बेलाबेलामा घचघच्याउँदै रह्यो । रहरै रहरमा जानीनजानी केही रचना कोर्न थालियो । वर्षौँ पहिलेको त्यही रहरले बल्ल आएर मुर्तरूप लिएको छ जसको परिणाम यो पुस्तक हो ।”
त्यस्तैगरी, पुस्तकमा सानुराजा श्रेष्ठ अन्जान लेख्नुहुन्छ, ”मानिस किन जन्मिन्छ ? मानिस केलाई जन्मिन्छ ? यसको तत्त्वज्ञानविना यस धराबाट जीवन अवसान हुने मानिसहरू दैनिक लाखौँ करोडौँ छन् । अतः आफ्नो जीवनको ध्येयलाई बुझेर मानवोचित व्यवहार गर्दै परोपकारमा लागेर मोक्ष पाउनु नै मानिसको धर्म हो । कसैको अहित नचाहने, सकारात्मक सोचका धनी उनले रचेका सुकोमल भावका भक्ति रचनाका एक खण्ड र श्रद्धाले भावानुवाद गरी दुई खण्डमा प्रकाशन गर्न लाग्नुभएको ‘शब्दसुमन’ कृतिलाई र रचनाकार मित्र मरारीराज मिश्रलाई अशेष शुभकामना अर्पण गर्दछु । ”
पुस्तकलाई भुँडीपुराणले प्रकाशन गरेको छ । पहिलो खण्डमा ४८ ओटा भजन र दोस्रो खण्डमा १६ ओटा भावानुवाद श्लोक रहेको पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।
…
३. केही नवीन कृति समीक्षा– नारायण प्रसाद शर्मा फुँयाल

समालोचक नारायण प्रसाद शर्मा फुँयालको समालोचना संग्रह हो ‘केही नवीन कृति समीक्षा’ । शर्माले पुस्तकमा ‘मास्टर बाबु’, ‘घाम अस्ताएको होइन’, उपन्यास ‘कायाकल्प’, ‘सुनेको चीन देखेपछि’, ‘निर्मल तलाउमा तरंग’लगायत विभिन्न लेखकका कृतिहरूमाथिका समालोचना संग्रह गरिएको छ ।
”मानिसहरू पढ्छन्, लेख्छन्, डिग्री लिन्छन्, जागिर खान्छन्, कमाउँछन् तर पठन कार्यदेखि तर्छेरै जीवन बिताउँछन् ।” पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”पठनभन्दा अझ माथिको उपलब्धि लेखन हो, सिर्जना कर्म हो । शिक्षित मानिसले पठन र सिर्जना बेगर जीवन व्यतीत गरे भने सम्झिनोस् ती मकैका थारा बोट हुन् । तिनको शिक्षामा कुनै घोगा लाग्दैनन् । दमकका तीन जना निमावि शिक्षकले एकैचोटि तीन पुस्तक निकालेर जीवन सार्थक बनाउनु भएको छ, यी तीनै बोटमा जोर जोर घोगा फलेकोमा खुशी छु । यो दमक क्षेत्रले नै खुशी मान्ने कुरा हो । अब बल्ल मूल फुट्यो उहाँहरूबाट वर्षको एक एक कृति यसैगरी आइरहुन् भन्ने कामना गर्दछु ।”
त्यसैगरी, पुस्तकमा लेखक शर्मा लेख्नुहुन्छ, ”कमलराज सरसँग दैनिक भेट हुने हुँदा उहाँकै लेखा परीक्षण कार्यालयमा एक दिन एउटा पुस्तक पढ्न भनी दिनुभयो र यसभन्दा अगाडि मबाट दर्जनौं पुस्तकहरू लगि पढ्नुभएको छ । यो पुस्तक डा. गोविन्दराज भट्टराईको ‘सम्झनाको सागरमा केही दिन’ राम्ररी अध्ययन गर्ने र यसको समीक्षा लेख्ने भन्दै पुस्तक हातमा राखिदिनु भएकाले प्रेमपूर्वक पुस्तक लिएँ । उक्त पुस्तकको पहिलो प्रयासको समीक्षा लेखनमा साथै अन्य समीक्षामा पाठकीय टिप्पणीले अझ प्रेरणा र उत्साह थपिदिएकाले उहाँ सम्पूर्ण पाठकज्युहरूमा आभार व्यक्त गर्दछु ।”
पुस्तकलाई ओरिएन्टल पब्लिकेशन हाउस प्रा.लि.ले बजारमा ल्याएको हो । १ सय १९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ रहेको छ ।
…
४. भुमरी – सुशिला शर्मा, न्यौपाने

सुशिला शर्मा (न्यौपाने) को पहिलो उपन्यास हो ‘भुमरी’ । नारीपात्रलाई प्रधानता दिइएको उपन्यासमा राजनीतिक आन्दोलनहरूबाट अपेक्षा अनुसार परिवर्तन नभएकोप्रति गुनासो व्यक्त गरिएको छ ।
”कथा वस्तुसँगको सामीप्यता, अनुभव, अनुभूति र सहजताले झकझक्याएपछि रचनाकारले सिर्जना गर्ने हो । यिनै विषयवस्तुको प्रतिछाँया यस कृतिमा पनि पाइन्छ ।”, पुस्तकमा चोकबहादुर दाहाल लेख्नुहुन्छ, ”विशेष गरी दोलखा उत्तरको भावभूमि, प्रकृति, परिवेश, सामाजिकता, रितिस्थिति, चालचलन र जनजीवनकै वरिपरि यो उपन्यास घुमेको छ । निम्नमध्यम परिवारभित्रको सामाजिक, आर्थिक, साँस्कृतिक पाटाहरू बीचका उतारचढावले सिर्जना गरका समस्यालाई उजागर गर्ने प्रयास यसमा देखिन्छ । ग्रामीण जीवनको शोषण दमन र उत्पीडनबाट बढी पीडित हुने वर्गमा महिला नै हुने यर्थाथलाई ‘कान्छी’बाट प्रतिनिधित्व भएको छ । चट्याङ्ग र कान्छी बीचको जस्तै चट्टान र फुर्की बीच पनि त्यस्तै प्रकारको वियोग छ तर प्रकृति फरक छ ।”
त्यसैगरी, लेखक शर्मा आफ्नो कुरामा लेख्नुहुन्छ, ”यस उपन्यासभित्र लुकेका आशय त धेरै छन् तैपनि कानूनी रूपमा राज्यका सबै नागरिक समान हुनुपर्छ भन्ने मूल आशय हो । तसर्थ सभ्य र सुसंस्कृतियुक्त समाज निमार्ण गर्न देशको कानूनलाई निष्पक्ष र समन्यायिक हुने गरी कार्यन्वयन गर्नुपर्छ नत्र समाजमा रहेका एक दुई जना खराब व्यक्तिले गर्दा सिङ्गो समाजले नै विकृति र विसङ्गतिको शिकार बन्नुपर्छ भन्दा अन्यथा नहोला । विना उदेश्यको बटुवा झैँ लामै समय अल्मलिएर तयार भएको यो उपन्यास प्रकाशन गर्ने जमर्को त गरेँ तर तपाईँहरूले सोचेजस्तो साहित्यिक रसहरूले भरिएको नहुन सक्छ । कथावस्तुमा समावेश गरिएका पात्रहरू गाउँघरको परिवेशबाट छनोट गरेको छु, उनीहरूको वास्तविक भोगाइलाई नै अनुभूति गर्न अनुरोध गर्दछु ।”
पुस्तकलाई गोपालप्रसाद न्यौपानेले प्रकाशनमा ल्याउनुभएको हो । १ सय ६१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ९० रुपैयाँ रहेको छ ।
…
५. देश विदेश– महेशराज खरेल

नियात्राकार महेशराज खरेलको नियात्रासंग्रह हो ‘देश विदेश’ । पुस्तकमा महेशराज खरेलले आफ्नो जागिरे जीवनको शुरुदेखि निवृत्त भएपछिसम्मका अवधिमा देश विदेशमा गरेको यात्राको कुरा लेख्नुभएको छ ।
”नियात्राकार खरेलका कतिपय रचनामा आत्मपरकताभन्दा वर्णनात्मकता बढी छ अनि कतिपय रचना नियात्राभन्दा यात्रानिबन्ध बनेका छन् र कतिपय चाहिँ कथा र निबन्ध शैलीको मिश्रण पनि छ ।”, पुस्तकको भूमिकामा प्रा.डा. हेमनाथ पौडेल लेख्नुहुन्छ, ”यात्रा साहित्यमा यो स्वभाविक कुरा पनि हो । सबै कुराको निजात्मक प्रस्तुति मात्र रहँदा यात्रागत तथ्यहरू छोपिने सम्भावना पनि हुन्छ । राम्रा र सिद्धहस्त नियात्राकारका रचनामा पनि यी विशेषता रहेकै हुन्छन् । नियात्रामा कहिले, कहाँ र किन यी तीन कुरा आउनु अनिवार्य छ । यस्ता केही सामान्य न्यूनताका पक्ष भए पनि यस संग्रहमा सङ्कलित सबै रचना नियात्राका दृष्टिले उल्लेखनीय र पठनीय छन् ।”
त्यसैगरी, पुस्तकमा महेशराज खरेल आफ्नो भनाइ लेख्नुहुन्छ, ‘साहित्यकार हुने रहरभन्दा पनि परिवेशले निर्माण गरेका मार्गमा हिँड्न बाध्य हुँदो रहेछ मानिस । म पनि त्यही मार्गमा हिँड्दा कविता सिर्जना गरेँ । यही क्रममा मेरो मनको किरण २०७७ कवितासंग्रह प्रकाशित भयो र म कवि सम्बोधित हुन पुगेँ । यसपछि आत्मपरक उपन्यास यात्रा जिन्दगीको २०६९ लेखेँ र उपन्यासकार भनिएँ । म कथा पनि लेख्छु भन्ने लागको छ तर त्यो भने मनमै सुरक्षित छ । अहिले भने नियात्राको बाटो हिँडिरहेको छु । नियात्रा लेखनका लागि यात्रा अनिवार्य कुरा हो । कसैको लेखाइको अंश सापट लिएर वा गुगलको सहाराले वा मनको स्वतन्त्र उडानलाई लिएर लेखिएका साहित्यिक निबन्ध वा प्रबन्धभन्दा भिन्नै हुन्छ नियात्रा साहित्य । स्रष्टाले यात्रा गर्दा आँखाले देखेको दृश्य, पैतालाले टेकेको भूतल, पिएको पानीको शुद्धता वा स्वाद, श्वासनिश्वास गर्दाको हावाको अवस्था, हिँड्दाका उकाला ओरालाका सकस, जानकार मानिससितका दकस र परिवेशको मूल्याङ्कन तथा आत्मनुभूतिलाई सरसपूर्ण रूपमा अभिव्यक्त गर्नु नै नियात्रा हो भन्ने ठान्छु म ।”
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । २ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।
…
६. सुस्वास्थ्य – गान्धीराज काफ्ले

गान्धीराज काफ्लेको निबन्धसंग्रह हो ‘सुस्वास्थ्य’ । पुस्तक दुई खण्डमा विभाजित छः ‘स्वास्थ्य व्यक्तित्व खण्ड’ र ‘स्वास्थ्य विचार खण्ड’ । लेखकले पहिलो खण्डमा विभिन्न चर्चित व्यक्तिहरूको स्वास्थ्य जीवन तथा दोस्रो खण्डमा स्वास्थ्य सम्बन्धित विचारहरू बारे लेख्नुभएको छ ।
”हजुरआमा, आमा र बाको प्रेम, प्रसाद र प्रार्थनाले फुलेको कमल । उनको जीवन पनि त्यहि त्रिवेणीले पवित्र रहेछ ।”, पुस्तकको भूमिकामा मानसाग्नि लेख्नुहुन्छ, ”बाल्यकालमा दुब्लो पातलो र स्वास्थ्यमा देखिएका समस्याहरूको समाधानमा चिकित्सक र चिकित्सालय चहारेर थाकेका उनी जवानीमा स्वास्थ्यको नालीबेली खोज्न लागे । यही खोजले विश्वविख्यात राजनीतिज्ञ, साहित्यकार एवम् अन्यको स्वास्थ्य कस्तो थियो र कसरी व्यवस्थापन गर्दथे भन्ने खोज्न थाले । यसै खोजको उपलब्धि ‘सुस्वास्थ्य’ हो भन्ने मलाई लाग्दछ ।”
त्यसैगरी, पुस्तकमा प्रा.डा अर्जनदेव भट्ट लेख्नुहुन्छ, ”पचास वर्षभन्दा लामो चिकित्सा पेशाको महासागरमा पौडिदा म के अनुभूति गर्दैछु भने स्वास्थ्य सर्वप्रथम मानिसको आफ्नै हातमा छ । उसको सोच, कर्म, सङ्घर्ष र मनोबलको खम्बामा ऊ आफैँले स्वस्थ्य, सक्रिय र अनुशासित जीवनको बलियो कोठा खडा गर्न सक्छ । तर यो पनि बिर्सनु हुन्न कि स्वस्थ्य रहने एक, दुई, तीन उपाय भनेर किटान गर्ने कुरो भने हुँदै होइन । गान्धीराज काफ्लेको यो पुस्तकले थुप्रै पाठकहरूको स्वास्थ्य प्रतिको चेतना अभिवृद्धि गराएर खुशी र सुखी जीवन बाँच्न धेरैलाई सहयोग पुर्याउनेछ भन्नेमा मेरो विश्वास छ । यो पुस्तक वर्तमान नेपाली साहित्यको नवीन प्रयोग हो । साहित्य र स्वास्थ्यको सम्मिश्रण जसले कुनै पनि सचेत व्यक्तिलाई आकर्षित नगरी रहन सक्दैन । के सक्रिय र स्वस्थ्य जीवन नचाहने कोही मानिस हुन सक्छ ?”
पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । २ सय ३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ४५ रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ मंसिर २०८२, आईतवार 









