
काठमाडौँ । नेपाली हास्यव्यङ्ग्यको उर्वर भूमि ‘बाङ्गा अक्षर’ले फेब्रुअरी १४, का दिन प्रणय दिवस विशेष हास्यव्यङ्ग्य कविता वाचन कार्यक्रम आयोजना गरेको छ।
जुम प्रविधि मार्फत सम्पन्न उक्त कार्यक्रममा हास्यव्यङ्ग्यकार एवं फित्कौली अनलाइन पत्रिकाका प्रधान सम्पादक नरनाथ लुइटेल प्रमुख अतिथि रहनुभएको थियो।
लगभग एक घण्टा पन्ध्र मिनेट सम्म चलेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव तथा साहित्यकार राजु सिटौला, विश्वराज अधिकारी, ऋषि बस्ताकोटी, शिव पलाँस, अमर कार्की, युवराज भण्डारी, जमुना भट्टराई लगायतका साहित्यकारहरुले आ–आफ्ना प्रणय रचना वाचन गर्नुभएको थियो। यसैगरी गायत्री लम्साल, प्रमोद अमात्य, राजेन्द्र कार्की, टिका लम्साल, बाबु आचार्य, भोज अर्याल र नारायण भट्टराईले पनि आफ्ना रचना वाचन गर्नुभएको थियो।
प्रमुख अतिथि लुइटेलले चोटिलो व्यङ्ग्य कविता वाचन गर्दै कार्यक्रमलाई थप ऊर्जाशील बनाउनुभएको थियो। उहाँले आफ्नो रचना वाचन गर्नुका साथै नेपाली हास्यव्यङ्ग्यको विकास र वर्तमान अवस्थाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वाचन गरिएका कविताहरूमा छोटो टिप्पणी गर्दै लुइटेलले २०४६ सालपछिका राजनीतिक परिवर्तनपछि नेपाली हास्यव्यङ्ग्य साहित्यमा व्यङ्ग्यको प्रचुरता बढेको बताउनुभयो।
कार्यक्रमको सुरु र अन्त्य डीसी नेपालबाट प्रसारण हुने ‘द ब्रिज टक’ का सञ्चालक, कमेडियन तथा बाङ्गा अक्षरका कार्यकारी सदस्य अर्जुन दाहालले आफ्ना रमाइला मुक्तक र रसिक किस्साहरू सुनाएर समापन गर्नुभएको थियो ।
बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने डीसी नेपाल अनलाइन मिडियाबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

