काठमाडौँ । प्रणय दिवसको अवसर पारेर वर्तमान कविता समूहले पुतलिसडकस्थित ग्रिनलिफ फुडमा ‘प्रेमको आदिम गीत’ नामक प्रेम कविता सङ्ग्रहको विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । एघार जना कविहरूको संयुक्त कृति रहेको यस सङ्ग्रहमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रेमका विभिन्न आयामहरू समेटिएका छन्।

विमोचन कार्यक्रममा विधान आचार्य, भीष्म उप्रेती, टङ्क उप्रेती, रमी प्रिया, सुमन थापा संगम, दिलकुमारी डङ्गोल, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, सन्जय सुमन, विश्व सिग्देल र ईश्वर थोकरका कविताहरू समावेश गरिएको छ। सङ्ग्रहमा समावेश कविताहरूले प्रेमको आकांक्षा, आवेग, स्मृति, विछोड र भावनात्मक गहिराईलाई चित्रण गरेका छन्। कतिपय कवितामा प्रेमलाई प्रकृतिको रूपक प्रयोग गरी – नदी, महासागर र ऋतुहरूको माध्यमबाट – अभिव्यक्त गरिएको छ भने केही कवितामा दार्शनिक दृष्टिकोणबाट प्रेमलाई अस्तित्व, समय र मानव भावनासँग जोडेर व्याख्या गरिएको छ।

विमोचन पश्चात्, सङ्ग्रहमा समावेश कविहरूसहित रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुल, नानीबाबा अधिकारी, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतका कविहरूले प्रणय कविता वाचन गरी कार्यक्रमलाई थप रोमाञ्चक बनाउनु भएको थियो।

वर्तमान कविता समूहका सदस्य तथा शव्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले समूहको संक्षिप्त परिचय दिँदै स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । सङ्ग्रहका कवि तथा अनुवादक चन्द्रबहादुर लामाले नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गर्दा कविताको सांस्कृतिक मौलिकता, भावनात्मक गहिराई र साहित्यिक सौन्दर्य जोगाउनुपर्ने चुनौतीबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै आयोजक समूहका सदस्य कवि विश्व सिग्देलले वर्तमान कविता समूहले नेपाली कविताको उन्नयनमा निरन्तर काम गरिरहेको र नेपाली कविताको अङ्ग्रेजी अनुवादले विश्व सामु नेपाली साहित्यको परिचय गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस कार्यले नेपाली साहित्यलाई थप समृद्ध बनाउने धारणा राख्नुभयो । समग्रमा, कार्यक्रम प्रेम र साहित्यको मेलमिलापको एउटा सुन्दर उदाहरणको रूपमा प्रस्तुत भएको थियो। कार्यक्रमको उद्घोषण राधिका अधिकारीले गर्नुभएको थियो ।