
ललितपुर । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत केमिकल इन्जिनियरिङका विद्यार्थीहरूको समाज (सोच) ले आयोजना गरेको काव्य सांझले क्याम्पस परिसर कविताको मधुर धुनले गुञ्जयमान भएको छ । माघ २९ गते सम्पन्न यस कार्यक्रमले प्राविधिक शिक्षाका विद्यार्थीहरूमा निहित साहित्यिक प्रतिभाको उजागर गरेको छ ।
सोचका अध्यक्ष एलिसा बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि रहनुभएको थियो । कवि तथा उपन्यासकार प्रभा बराल र कवि डा. वसन्त गौतम विशिष्ठ अतिथि रहनुभएको थियो । प्रमुख अतिथि दिवसले गमलामा पानी राखेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू मुकुन्द प्रसाद दुलाल, अनुसन्धान नेपाल, उषाकिरण अधिकारी, सक्षम मल्ल, मोहित जोशी, उज्ज्वल अर्याल, जेल्सा दाहाल, मोक्षदा दाहाल, लयस थपलिया, डा. वसन्त गौतम, डा. चैतन्य अधिकारी र प्रभा बरालले आ-आफ्ना मौलिक र मार्मिक कविताहरू वाचन गर्नुभएको थियो ।
आफ्ना केही चर्चित कविताहरू प्रस्तुत गर्दै प्रमुख अतिथि दिवसले इन्जिनियरिङका विद्यार्थीहरूले साहित्यिक कार्यक्रम आयोजना गरी यति गहकिला कविताहरू प्रस्तुत गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूको साहित्यिक लगावको प्रशंसा गर्दै उज्जवल भविष्यको कामना गर्नुभयो ।
केमिकल इन्जिनियरिङ आठौं सेमेस्टरका विद्यार्थीहरू मोक्षदा दाहाल र विद्या भुसालले कार्यक्रमको संयोजन गर्नुभएको भने लयस थपलियाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

