
काठमाडौं । लेखक तथा सञ्चारकर्मी राजेश खनालद्वारा लिखित व्यक्तिवृत्त “चिकित्साका चौध तारा” को विमर्श कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको छ। कार्यक्रममा स्त्रीरोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकार र मनोचिकित्सक डा.अनन्त अधिकारीले पुस्तकको गहन चर्चा गर्नुभयो।
प्रा.डा. ताम्राकारले पुस्तकलाई चिकित्सा क्षेत्रका लागि मात्र नभई सबैका लागि अध्ययनयोग्य बताउँदै यसले हिजोका चिकित्सा क्षेत्रका अग्रजहरूको संघर्ष र योगदानलाई उजागर गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हिजोको चिकित्सा पुस्ताले भोगेका दुःख र अनुभवहरू पढेर मलाई पनि धेरै नयाँ कुरा थाहा भयो। यो प्राविधिक रुपमा निकै गाह्रो काम हो र राजेश खनाल यसका लागि धन्यवादका पात्र हुनुहुन्छ।” उहाँले चिकित्सा क्षेत्रका चुनौतीहरूबारे आफ्नो अनुभव पनि कार्यक्रममा सुनाउनुभयो।
डा.अधिकारीले गैर-चिकित्सकले लेखेको यो कृतिले हजुरबुवा र बुवा पुस्ताका चिकित्सकहरूको जीवनका दुःख र संघर्षलाई पाठकसमक्ष पुर्याउन सफल भएको बताउनुभयो। उहाँले यसलाई चिकित्सा क्षेत्रका अग्रजहरूको जीवनवृत्तको महत्वपूर्ण कृति भन्दै यसबाट आफूलाई पनि प्रेरणा मिलेको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न विषयगत क्षेत्रका पायनियर चिकित्सकहरूले बेहोरेका कथाहरूले हामीलाई प्रेरणा दिन्छ। मैले पनि यो पुस्तकबाट धेरै नयाँ कुराहरू सिकें।”
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले खनालको पुस्तकले स्वास्थ्य क्षेत्रको पृष्ठभूमि र जानकारी दिन सफल भएको बताउँदै यसले चिकित्सक लगायत स्वास्थ्य क्षेत्रको सम्मान गरेको धारणा राख्नुभयो। उहाँले निबन्धात्मक शैलीको प्रचुरताले कृति भरिपूर्ण भएको बताउँदै यो पुस्तक सबैका लागि उपयोगी रहेको बताउनुभयो। उहाँले चिकित्सकहरूबाटै यस कृतिको चर्चा हुनु महत्वपूर्ण रहेको पनि औंल्याउनुभयो।
कृतिकार राजेश खनालले कृति तयार पार्दाका अनुभवहरू सुनाउनुभयो भने सुनकोसी वाङमय प्रतिष्ठानका अध्यक्ष साहित्यकार छविरमण सिलवालले उपस्थित सबैलाई स्वागत गर्दै प्रतिष्ठानको उद्देश्यबारे जानकारी गराउनुभयो। कार्यक्रमको सञ्चालन वाङमयका महासचिव प्रदीप सापकोटाले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

