
धनगढी । पत्रकार दीर्घराज उपाध्यायको भावुक कवितासंग्रह ‘आमा म आउँदैछु’ को आज धनगढीमा विमोचन गरिएको छ।
समारोहमा साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, र ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो।
प्रमुख अतिथि डा. लम्सालले उपाध्यायको कवितामा कोरोना महामारी र द्वन्द्वका क्रममा देखिएको जनजीवनको पीडा र आक्रोशको मार्मिक चित्रण रहेको उल्लेख गर्दै यसलाई आर्थिक विकास र परिवर्तनको लागि शंखघोषको रूपमा लिन सकिने बताउनुभयो।
डा. पन्तले उपाध्यायको पत्रकारिता मार्फत सुदूरपश्चिमको विकास र समृद्धिका लागि निरन्तरको योगदानको स्मरण गर्दै कोभिड महामारीका बेला नागरिकको जीवन रक्षामा उहाँले गरेको मानवीय कार्यको प्रशंसा गर्नुभयो। उहाँले कवितामा प्रेम, सद्भाव र समाजका विकृतिहरूमाथि गरिएको तिखो प्रहारको विशेष चर्चा गर्नुभयो।
कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडको पीडा, राज्यको अकर्मण्यता, राजनीतिक विसंगति र प्रेमजस्ता विविध पक्षहरू समेटिएको बताउनुभयो । उहाँले अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायले साहित्य र सामाजिक कार्यमार्फत सुदूरपश्चिममा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै यस कृतिलाई नेपाली साहित्यको एउटा महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो ।
लेखक उपाध्यायले मुलुकले भोगेका विपत्ति, नागरिकका पीडा र विकृत राजनीतिलाई कवितामा उतारेको बताउँदै कोभिड महामारी र द्वन्द्वका बेला जनताले भोगेको व्यथालाई पनि आफ्ना कवितामा समेटेको जानकारी दिनुभयो।
ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश प्रसाद जोशीले यस्तो ओजिलो साहित्यिक कृति प्रकाशन गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा साहित्यकार श्रेष्ठ प्रिया पत्थर र पत्रकार टीकाराम यात्रीले शुभकामना मन्तव्य दिनुभएको थियो । विमोचन समारोहमा लेखक, साहित्यकार, राजनीतिकर्मी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपाध्यायको यो चौथो कृति हो। यसअघि उहाँको एउटा कवितासंग्रह, एउटा गजलसंग्रह र ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तक प्रकाशित भइसकेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
