
विराटनगर । आख्यानकार नारद पोखरेलको हालै प्रकाशित उपन्यास ‘उर्वरा’ माथि विराटनगरमा साहित्यिक विमर्श गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठानले हिमालय दर्शन कलेजको सभाहलमा आयोजित कार्यक्रममा उपन्यासको गहन समीक्षा गरेको छ। तीन दशकदेखि साहित्य लेखनमा क्रियाशील पोखरेलको यस कृति केही महिना अघि काठमाडौंमा विमोचित भएको थियो।
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्व र साहित्यकार प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समालोचक भूषण ढुंगेलले ‘उर्वरा’ लाई समसामयिक र यथार्थपरक कथावस्तुमा आधारित उपन्यासको संज्ञा दिनुभयो। उहाँले उपन्यासमा ५०–६० वर्ष अघिको र वर्तमान समयको घटना तथा विषयवस्तुलाई सफलतापूर्वक समेटिएको उल्लेख गर्नुभयो।
समीक्षक सुविद गुरागाईंले ‘उर्वरा’ पठनीय मात्र नभई संग्रहणीय कृति भएको धारणा राख्नुभएको थियो। उहाँले यथार्थताको धरातलमा उभिएर लेखिएको यस उपन्यासको प्रशंसा गर्नुभयो । कवि सीमा आभासले उपन्यासमा लेखकले धेरै पात्रहरूलाई सफलतापूर्वक उभ्याएको बताउँदै भाषिक शुद्धतादेखि पुस्तकको साजसज्जा सबै उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, सचिव मीनकुमार नवोदित, साहित्यकार भेषराज पोखरेल, नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उपाध्यक्ष सरिता अर्याल, साहित्यकार दिनेश पौडेल, कवि चूडामणि नेपाल अकिञ्चन लगायतले ‘उर्वरा’ उपन्यासमाथि आ-आफ्ना दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
विमर्शमा लेखक पोखरेलले कल्पनाभन्दा यथार्थमा आधारित रही उपन्यास लेख्ने गरेको स्पष्ट पार्नुभयो। उहाँले उपन्यासका विषयवस्तु, कथा र पात्रहरू यही समाजबाट प्रेरित भएको बताउँदै ६० वर्ष अघिको र वर्तमान समाज तथा चित्रणलाई उपन्यासमा जोड्ने प्रयास गरेको उल्लेख गर्नुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

