काठमाडौं । साहित्यिक पत्रकार संघले अनामनगरस्थित डालो रेस्टुरेन्टमा कथाकार गोपी मैनालीको नवीनतम कथाकृति ‘विशृङ्खलित सपना’ को परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा साहित्यकार महेश प्रसाईं, समालोचक प्रमोद प्रधान, नियात्राकार प्रतीक ढकाल र समीक्षक अनिता कोइरालाले ‘विशृङ्खलित सपना’ मा समेटिएका कथाहरूको विस्तृत समीक्षा गर्नुभयो । उहाँहरूले कथाकार मैनालीको लेखन शैली, विषयवस्तु र कथाहरूमा प्रस्तुत गरिएका पात्रहरूको चरित्र चित्रण लगायतका पक्षहरूमाथि आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नियात्रा, निबन्ध र समालोचनामा आफ्नो पहिचान बनाइसकेका मैनालीलाई डा. अर्जुनदेव भट्टले ढाका टोपी र अध्यक्ष लेकालीले फूलको माला पहिराएर स्रष्टा सम्मान गर्नुभएको थियो। सुरभि साहित्य प्रतिष्ठान, गोकर्णेश्वरबाट प्रकाशित यस कृतिमा सत्र ओटा मार्मिक कथाहरू समावेश छन्। यो मैनालीको पहिलो कथाकृति हो।

कार्यक्रमको सुरुवात समालोचक युवराज मैनालीले स्वागत मन्तव्यबाट गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै गोपी मैनालीको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो। कार्यक्रममा कृतिकार मैनालीले पनि आफ्नो सिर्जनाको प्रेरणा र लेखन प्रक्रियाबारे रोचक जानकारी गराउनु भएको थियो। कवि मुरारी सिग्देलले कार्यक्रमको कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो।