
काठमाडौँ । हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको ‘ह्वाइटहाउस फेस्टिभल’मा “जंगलमै जिन्दगी” नामक छलफल कार्यक्रममा राउटे समुदायका सदस्यहरू सहभागि हुनुभएको छ ।
परम्परागत जीवनशैली र फिरन्ते जीवन बिताउने राउटे समुदायका सदस्यहरू आत्मविश्वासका साथ आफ्नो धारणा राख्दै समाजसँगको अन्तरक्रियामा सहभागि भइ नयाँ अध्यायको सुरुवात गर्नुभएको छ ।
कार्यक्रममा मुखियाका छोरा दीपक शाही, जिकी, सुरमान र नवीन शाही सहभागी हुनुहुन्थ्यो । दीपक शाहीले नेपाली भाषामा खुलस्त रूपमा बोल्दै आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । उहाँले नेपाली गीत समेत गाएर सहभागीहरूलाई मोहित बनाउनुभएको थियो । यस कार्यक्रमले राउटे समुदायका महिला सदस्यहरूको सहभागितालाई पनि उल्लेखनीय बनाएको छ । जहाँ २ महिला र २ पुरुषले आत्मसम्मानका साथ स्टेजमा आफ्ना विचारहरू राख्नुभएको थियो, जुन कुरा राउटे समुदायको परम्परागत संरचनालाई मध्यनजर गर्दा उल्लेखनीय छ ।
महिलाहरूलाई अहिलेसम्म मुखिया किन नबनाइएको भन्ने प्रश्नको जवाफमा दीपक शाहीले पुर्खादेखि चल्दै आएको परम्परागत मान्यता र महिलाहरूको लाजको भावनालाई कारण देखाउनुभएको थियो । यद्यपि, यस कार्यक्रममा उठेका प्रश्नहरूले राउटे समुदायभित्र हुँदै आएका सामाजिक संरचना र परिवर्तनको आवश्यकतालाई पनि उजागर गरेको छ ।
शिक्षाको सन्दर्भमा, सुरमानले स्कुल जान चाहना नरहेको बताउनुभएको थियो , जसको कारण मुखियाले नपठाउनु पनि हो भन्ने कुरा दीपक शाहीले थप्नुभयो । यद्यपि, दीपक शाहीले आफूहरूले क ख ग घ सम्म पढ्न सिकेको र नाम लेख्न पनि सक्ने बताउनुभयो, जसले शिक्षा प्राप्तिको चाहना र प्रयासलाई देखाउँछ । नवीन शाही भने बिरामी भएको कारण बोल्न सक्नुभएन । जिकीले आफ्नो मौलिक भाषामा सुमधुर गीत गाएर कार्यक्रममा रौनक थप्नुभएको थियो ।
राउटे समुदायका सदस्यहरूले कम बोल्ने तर भावभंगीले धेरै कुरा व्यक्त गर्ने परम्परागत शैलीलाई यस कार्यक्रममा पनि देख्न सकिन्थ्यो । यद्यपि, यो कार्यक्रममा उहाँहरूले आत्मविश्वासका साथ प्रश्नहरूको सामना गर्दै आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो । दीपक शाहीले आफू धेरै पटक काठमाडौँ आइसकेको र नेपाल सरकारले विभिन्न सुविधा बढाएको बताउनुभयो । सरकारले घर बनाइदिए बस्ने भन्ने प्रश्नमा भने उहाँहरूले घरमा बस्न नचाहेको बताउँदै आफूहरूलाई घरमा बस्दा चक्कर लाग्ने बताउनुभएको थियो ।
बलो, बन्चरो र ओदान बोकेर फिरन्ते जीवन बिताउने राउटे समुदायले काठका सामग्री बनाएर गुजारा गर्ने परम्परागत व्यवसायमा कमी आएको उहाँहरू बताउनुहुन्छ । वनसम्बन्धी कानुनको बारेमा पनि उहाँहरूलाई जानकारी छ र उहाँहरूले कानुनको पालना गर्ने बताउनुभएको थियो । अहिले उहाँहरू घरमा नभई चौरमा बस्ने गर्नुभएको छ ।
समग्रमा, यस कार्यक्रमले राउटे समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशको बारेमा नयाँ आयाम उजागर गरेको छ । उहाँहरूको आत्मविश्वास र परिवर्तनको चाहनाले उहाँहरूको भविष्यप्रति आशावादी बनाएको छ । यस कार्यक्रमले राउटे समुदायको संरक्षण र विकासका लागि थप पहलहरूको आवश्यकतालाई पनि औँल्याएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

