
काठमाडौँ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ को तयारी तीव्र गतिमा भइरहेको छ।
हिमवत्खण्डका नेपाली भाषीहरूको भाषा, साहित्य, कला र संस्कृतिको गहन अध्ययन र प्रवर्द्धन गर्ने उद्देश्यले चैत १ गतेदेखि ३ गते (१४–१६ मार्च २०२५) सम्म काठमाडौँमा आयोजना हुने यस सम्मिलनले हिमवत्खण्डको समृद्ध सांस्कृतिक विरासतको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन संयोजक डा. विजय सुब्बाले सम्मिलनको मुख्य उद्देश्य हिमवत्खण्डमा रहेका विभिन्न भाषा–भाषी समुदायका संस्कृति, सभ्यता र ज्ञान परम्पराको आदानप्रदान, प्राज्ञिक विमर्श, खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धन गर्नु रहेको बताउनुभयो । उहाँले यस सम्मिलनले हिमवत्खण्डको संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउँदै सामाजिक एकता र सद्भावलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने यस सम्मिलनमा नेपालका सातै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बंगाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल आदि), चीन, बंगलादेश, म्यानमार, भुटान र थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली, प्राज्ञ डा. जगमान गुरुङ र सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङले सम्मिलनमा विशेष प्रवचन दिने कार्यक्रम रहेको छ। यसका साथै, प्रा.डा. चुडामणि बन्धु, डा. रमेश ढुंगेल र डा. भेषराज अधिकारीले हिमवत्खण्डको भाषा, संस्कृति र खानपानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।
डा. सुब्बाले सम्मिलनमा नेपाली चलचित्र र सञ्चारमाध्यममा नेपाली भाषाको प्रयोगका विषयमा समूहगत छलफल हुने जानकारी दिँदै, सम्मिलनमा विभिन्न जातजातिका लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकी, प्राज्ञिक विमर्श, समूह विमर्श, हिमवत्खण्ड कन्सर्ट, नेपाली चलचित्र प्रदर्शनी, लोककला, भेषभूषा तथा लोकबाजा प्रदर्शनी र कविता उत्सव जस्ता कार्यक्रम समावेश गरिएको बताउनुभयो ।
यसअघि २०७५ सालमा भानुजयन्तीका अवसरमा हिमवत्खण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

